नवनियुक्त मन्त्री साहद्वारा भेटघाटलाई तीब्रता
वीरगन्ज, ८ साउन । प्रदेश २ का नवनियुक्त आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले वीरगन्जमा विभिन्न स्थानमा भेटघाट गर्नुभएको छ । मन्त्रीमा नियुक्त हुनुभएपछि पहिलो पटक काठमाडौं पुगेर पार्टी अध्यक्षसँग भेट गरी वीरगन्ज आएपछि वीरगन्जमा शुक्रबार भेटघाटलाई तीब्रता दिनु भएको छ ।
काठमाडौंबाट वीरगन्ज आउनु भएका मन्त्री साहले शुक्रबार वीरगन्जको मूर्लीस्थित वीरगन्ज सिटी पार्टी प्यालेसमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुसँग भेटघाट गर्नुभएको छ । त्यस्तै रामगढवामा अखिलक्रान्तिकारीका जिल्ला संयोजक कविर पटेलको घरमा पुगेर नेता कार्यकर्ताहरुसँग भेटघाट गरी विन्दवासिनी गाउँपालिकाका महेश चौरसियाका परिवारसँगपनि भेटघाट गर्नुभएको छ ।
नेकपाको सपथ ग्रहण समारोहमा झडप हुँदा कुटपिटबाट ज्यान गुमाएका नेकपा माओवादीका नेता चौरसियाको परिवारसँग भेटघाट गरी पारिवारिक अवस्थाको बारेमा पनि जानकारी लिनु भएको छ । यसैबीच मन्त्री साहलाई सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ का सुकम्वासीको समस्याको विषयमा जानकारी गराईएको छ ।
अखिल नेपाल सुकुम्वासी संघका कन्द्रीय सदस्य तथा पर्सा अध्यक्ष सोम लामा सहितको टोलीले मन्त्री साहलाई सुकुम्वासी समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझेपछि मन्त्री साहले समस्याको बारेमा बुझेर छिटै समाधानको पहल गर्ने आश्वासन दिनुभएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य शिवम साहले जानकारी दिनुभयो ।
मन्त्री साहसँगै नेकपा माओवादीका नेता एवं पूर्व मन्त्री मात्रिका यादव पनि आउनु भएको थियो । मन्त्री साह र यादव भोली वीरगन्जमा आयोजना हुने नेकपाका संस्थापक नेता नर बहादुर कर्मचार्यको आठौं स्मृति दिवसमा सहभागि हुने बताईएको छ । कार्यक्रम शनिबार बिहान ७ः३० बजे वीरगन्ज सिटी प्यालेसमा हुनेछ ।