आगजनी मुद्दामा जसपाका दुईजना नेतालाई ६ महिना जेल सजाय
वीरगन्ज, ८ साउन ।मधेस आन्दोलनका बेला आगजनी अभियोगमा परेको मुद्दामा जनता समाजवादी पार्टी बाराका दुईजना नेता ६–६ महिनाको लागि जेल चलान भएको छ ।
संविधानसभा सदस्य एवं जनता समाजवादी पार्टीका नेता प्रमोद गुप्ता र जसपा बाराका प्रवक्ता अरुण कुमार सिंहलाई मधेस आन्दोलनको बेलामा कलैया अस्पतालमा आगजनी गरेको मुद्दामा बारा जिल्ला अदालतले ६–६ महिना जेल र ९ लाख ८३ हजार ३३३ रुपैंया सजायको फैसला गरेको थियो ।
२०७४ माघ २५ गते जिल्ला अदालतले दुवैजनालाई सजाय तोकेको थियो । बिहीबार बारा जिल्ला अदालतमा हाजिर भएका उनीहरुलाई २०७८ साउन ७ देखि कैद सजाय हुने गरि माघ ६ गतेसम्मका लागि वीरगन्ज कारागार चलान गरेको छ ।
बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले प्रमोद गुप्ताको मात्रै नाम दिएपनि दुवैजना वीरगन्ज कारागार चलान भएका छन् । वीरगन्ज कारागारका जेलर कृष्ण गैरेलेपनि बिहीबार दुईजना वीरगन्ज कारागारमा आएको तर, नाम भने यकिन हुन नसकेको बताउनुभयो ।