उद्योग क्षेत्रले वातावरणमा पारेको प्रभावको विषयमा मन्त्रालयमा छलफल
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग क्षेत्रले वातावरणमा पारेको प्रभावको विषयमा छलफल भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको संयोजकत्वमा उद्योग क्षेत्रले वातावरणमा पारेको प्रभाव न्यूनीकरणका विषयमा निजीक्षेत्रका संगठन तथा सरोकारवालाहरुसँग छलफल गरेको हो ।
छलफलमा संघ, प्रदेश तथा स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रमहरुमा उधोग क्षेत्रबाट पर्न सक्ने असर न्यूनीकरणका बिषयहरुलाई समावेश गर्नु पर्ने मन्त्रालयका सचिव डा. तोय नारायण ज्ञवालीले बताउनु भएको थियो । त्यसैगरी वातावरणीय प्रभाव मूल्यांकन (Environmental Impact Assessment) र प्रारम्भिक वातावरणीय परीक्षण (Initial Environment Examination) स्वीकृत गर्ने निकायहरुले स्वीकृत प्रतिबेदनमा उल्लेखित न्यूनीकरणका उपायहरुको पालना गरे नगरेको विषयमा नियमित अनुगमन गर्ने बिषयमा पनि छलफल भएको थियो ।
मन्त्रालयले पर्साको सिर्सिया नदीमा प्रदुषण नियन्त्रणका लागि परियोजना संचालन गर्ने बिषयमा पनि छलफल भएको उद्योग मन्त्री रिजालको सचिवालयले जनाएको छ । छलफलमा उपस्थित उधोगीहरुले उधोगमा देखिएको विभिन्न समस्याहरुको बारेमा मन्त्री रिजाललाई जानकारी गराएका थिए ।
मन्त्री रिजालले आफु उधोगीहरुकै पक्षमा रहेको भन्दै समस्या समाधानका लागि हर प्रायस गर्ने बताउनु भयो । छलफलमा उद्योग परिसंघ, बिभिन्न उधोगीहरु, सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।