बारामा ६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान
वीरगन्ज, १० बैशाख । आईतबार सम्पन्न उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको थियो । बारामा छिटपुट घटना बाहेक शान्तिपूर्ण रुपमै सम्पन्न भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।
आईतबार मतदानका क्रममा खुटुवा जब्दीको मतदान केन्द्रमा नक्कली मतपत्र सहित जसपाका नेता एवं जिल्ला समन्वय समिति बाराका सदस्य राम सागर यादवलाई पक्राउ गरिएको थियो । पक्राउ परेका उनलाई मतदान सकिएपछि रिहा गरिएको प्रहरी नायवउपरीक्षक पाण्डेले बताउनुभयो ।
सम्पन्न मतदानमा बारामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जिल्ला निर्वाचन अधिकारी सरोज चौधरीले जानकारी दिनुभयो । मतदान सम्पन्न भएपछि अहिले मतपेटिकाहरु बाराको कलैया स्थित गंगापुरमा रहेको शैक्षिक तालिम केन्द्रमा ल्याईएको छ ।
मतपेटिकाहरु रुजु गरिसकेपछि सर्वदलीय बैठक बसेर बैठकले निर्णय गरे अनुसार नै मतगणना शुरु गरिने जिल्ला निर्वाचन अधिकारी चौधरीले बताउनुभयो ।