नेपाल राष्ट्र र नेपालीजनताको सर्वोपरी हितमा जनयुद्ध
राजेन्द्र न्यौपाने
१०४ वर्षीय जहाँनीय राणा शासनकालमा आफ्नो खेतबारीमा काम गर्दागर्दैको अवस्थामा राणाले बोलेपछि उसको भारी बोकेर उसैको गन्तव्यमा जानु पर्दथ्यो । राणाको बास कुनै गाउँको घरमा प¥यो र त्यस घरमा कन्या राम्री रहिछन् भने राणाको गलत नजरमा पर्नु पर्दथ्यो । त्यस घरको पूरुष राणाको भरिया बन्नु पर्दथ्यो । गाउँमा रहेका आर्थिक रुपले विपन्न समुदाय बोक्सी, छौडा लगायतका अन्धविश्वासका साधन बनाइने र विभिन्न प्रकारका यातना दिने गरिन्थ्यो ।
प्रजातन्त्र प्राप्तिका लागि तत्कालिन अवस्थामा राजा त्रिभुवन सहित नेपाली जनताले विद्रोह गरेर राणा शासनको अन्त्य भयो । केहीवर्ष राणाकै निगरानीमा शासनशैली सञ्चालन भएपनि २०१५ सालमा आमनिर्वाचन भयो । यो निर्वाचन राणा र राजालाई मनपरेको थिएन त्यसैले २०१७ सालमा राजा महेन्द्रले शासनसत्ता आफ्नै हातमा लिए । त्यति बेलाविकास निर्माणका केही पूर्वाधार खडा गरेको र विदेशी सामू नझुेको इतिहास रहेको छ । उनको मृत्युको सहि कारण अझै पत्तालागेको छैन । भौतिक पूर्वाधारका क्षेत्रमा राजा महेन्द्रले गरेका निर्माणहरु अहिलेसम्म प्रयोगमा रहेका छन् ।
पञ्चायती शासन व्यवस्थाका विरुद्ध काँग्रेस र कम्युनिष्टहरु आन्दोलनमा रहिरहे, २०४६ सालको जनआन्दोलनबाट २०४७ सालमा बहुदलको घोषणा भयो । बहुदलको घोषणा भएको कुरा राजपरिवार भित्र र विदेशी शक्तिलाइ मन परेको थिएन । २०४७ पछि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विकासको थालनी सुरु भयो । गाउँगाउँमा विद्यालय र स्वास्थ्य चौकीहरु खुल्नथाले । जनताका आधारभूत आवश्यकताहरु ज्यूँका त्यूँ रहे । शब्दमा प्रजातन्त्र भने पनि व्यवहारमा राणाहरुले गर्ने व्यवहार भन्दा फरक व्यवहार जनताले पाउन सकेनन् ।
२०५२ सालबाट जनयुद्धको घोषणा भइ २०६२ सम्म अधिकार जनतालाई दिन खोज्ने र अधिकार दिन नखोज्ने वीचयुद्ध भयो । युद्धमा राज्यपक्षबाट निर्मम ज्यादती भयो । जहाँनियाँ राणाशासन कालको भन्दा निक्कै कठोर यातना र पीडा नेपाली जनसमुदायले भोग्नु प¥यो । मुलुक शान्ति प्रक्रियाबाट आजको स्थान सम्म आइसकेकाले युद्धका नाममा भएका भयानक र अकल्पनीय घटनाहरुलाई यहाँ सबै उल्लेख गर्न सकिएन । पछिल्लो समय २०६४ सालदेखि परिवर्तनका लागि जनताको अधिकार स्थापित गर्न लागि परेको नेकपा माओवादी केन्द्र सरकार र सत्तामा निरन्तर सहभागि रहेको छ ।
यस वीचमा जनताका धेरैअधिकारहरु स्थापित भएका छन् । ग्रामीण क्षेत्रमा स्थानीय सरकार स्थायी रुपमा जनताको सेवाका लागि रहेको छ । काठमाण्डौबाट मात्रै सम्पादन हुने कामहरु प्रदेशमा पुगेका छन् । नीतिगत रुपमा जनताका मागहरु सम्बोधन हुनेगरी योजनाहरु आएका छन् । धेरै राम्रा कामहरु हुँदाहुँदै पनि परिवर्तनमा अवसर खोज्ने ढोँगीहरुको कमिभने माओवादी भित्रकम छ भन्न सकिदैन । विशेषगरी सत्तामा पुगेपछि क्रान्तिकारी नेताहरु पुरानै शैली र व्यवस्थामा भुल्ने गरेका छन् । भौतिक सेवा सुविधामा हराएका छन् । भए गरेका राम्रा कामहरुको समेत अभिलेखिकरण गर्न सकेका छैनन् ।
आफ्नो अवसरको लागि नेतृत्वलाई गुहार गर्ने काममा सबै लागि परेका छन् तर नेतृत्वले गरेका असल कामको बारेमा नागरिक स्तरसम्म पुग्ने गरी बोल्न र लेख्न हिच्किचाउँछन् । शहिद वेपत्ताजनहरुलाई शब्दले सम्मान गर्दछन् तर तिनका परिवाजनका समस्यामा साथ दिन वा समस्या बुझ्न कहिल्यै अघि सर्दैनन् । ग्रामीण क्षेत्रमा हुने विकास निर्माणका योजनाबाट लाभलिने मनसाय राख्दछन् र शहरका विभिन्नभागमा कँक्रिट महलको सपना देख्दछन् ।
सपना पूराहुनेहरु झनै ठूला नेता हुने, मन्त्री हुने र अझै माथिपुग्ने योजनामा विभिन्न हतकण्डा अपनाउँछन् । शहरमा महल नहुनेहरु पीडामा छटपटिएर आफ्नो केही नभएको भन्दै क्रान्ति र आन्दोलन व्यर्थ रहेको भन्दै गुनासो गरिरहन्छन् । भौतिक बस्तुलाई मात्र आफ्नो हो भन्ने ठान्नेहरु क्रान्तिकारी होइनन् । जनताले पाएको अधिकार र न्यायलाई आफ्नो ठान्न सक्नुपर्दछ ।
साच्चै यो आन्दोलन लुकीछिपि धन बटुल्न, आफ्ना छोराछोरीलाइ थरीथरी ब्राण्डका रक्सीको पोखरीमा डुबुल्की लगाउन, विदेश सयर गराउन, आफ्नै नाममा सिँगो पृथ्वी नै प्लटिङ गर्न तर्फ अग्रसर हुन, नयाँ नयाँ श्रीमती बटुल्न, गलत कामको विरोध गर्ने असल कार्यकर्ताहरुको हत्या योजना तयार गर्न, शहिद वेपत्ता परिवारजनलाई हेयको भावना हेर्न, सत्ताको आडमा कर्मचारी सरुवा बढुवा गरी लाभ लिन गरिएको थिएन ।
तिमीहरु कार्यकर्ता हौ बाचुञ्जेल हाम्रो सेवा गर्नुपर्छ, तिमीहरुलाई नेता बनाएर हामीले झोला बोक्न मिल्दैन भन्दै आफै मात्रै नेता बन्न खोजिरहने प्रयोजनका लागि क्रान्तिको सुत्रपात भएको थिएन । कमरेडहरुले नमस्कार नगरेर सलाम गरेको यहाँहरुलाई सायद स्मरण होला । यहाँ उही १०४ वर्षे जहाँनिया शासन व्यवस्थाका लागि जनयुद्ध गरिएको थिएन । हिजो आफ्नै काममा खटिएका किसानहरु राणाको निसानामा पर्दथे आज प्रजातन्त्र, पञ्चायत, बहुदल, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र विभिन्न शब्दहरु सहितको शासन व्यवस्थामा पनि शैली जहाँनिया शासन व्यवस्था भन्दा उच्च तहको सोचविचारको जनताले हेर्न पाएनन् ।
सुत्केरी महिलाको रक्तश्राव रोक्न इमर्जेन्सी उपचार कक्षमा हिडेका डाक्टर पुरानै व्यवस्था अनुसार कुटिएका छन् । उनीहरुको रोजिरोटी खोसिएको छ । सत्ताको मालिकहरुबाट हुने चरम दमन र शोषण कायमै राख्न जनयुद्ध भएको थिएन । आफूले र आफ्ना कार्यकर्ताले राज्यका धन लुट्न सके क्रान्तिको स्वाद मिठो हुने र नसके क्रान्ति आवश्यक छ भनेर मुख उद्य्याइरहने जुन स्वार्थपूर्ण दैनिकी छ, त्यसलाई नेताहरुले सुधार गर्न नसक्दा देशमा नयाँ राणाहरुको उदय भईरहेको छ । जनताले न्याय पाएका छैनन् ।
देश विदेशका शान्ति विरोधीपक्षले निरन्तर हमला गरिरहेका छन् । जनयुद्धबाट जनस्तरमा आएको व्यापक परिवर्तनलाई आत्मसाथ गरी अघि बढ्नु आजको आवश्यकता रहन गएको छ । आफूलाई कम्युनिष्ट नेता भन्नेहरु उपहारको आशामा बस्नु भनेको विचार विहिनहुनु हो । यही विचार विहिन नेतृत्वका कारण नेता ठोस विचार लिएर अघि बढ्न सकिरहेका छैनन् । युद्धका कहालीलाग्दा समयहरु, शहिद, बेपत्ता, घाइते योद्धा, तिनका परिवारजनहरुलाई सम्झिएर, व्यवहारिक साथ लिएर र दिएर अघि बढ्नु आजको आवश्यकता रहन गएको छ ।
जनयुद्ध उचित भएको र यसका नेतृत्वकर्ताहरुले मात्रै देशलाई अगाडि बढाउन सक्छन् भन्ने प्रमाण देशमा सबैले देखिरहेका समय त्यस भन्दा तलका नेता तथा कार्यकर्ताहरु आफ्नै व्यक्तिगत स्वार्थसिद्धका लुते धन्दामा लागेर समाजवादमा पुग्ने यात्रुहरुलाई हुल हुज्जतको भीडमा अल्मल्याई राख्नु हुँदैन । स्वार्थमा रमाएका यस्ता नेतालाई लतारेर अघि बढ्नुपर्दछ । नेपाल राष्ट्र र नेपालीजनताको सर्वोपरी हितका पक्षमा सबै एक भएर जुट्नुपर्दछ ।
सन्दर्भ २८ औँ जनयुद्ध दिवस
लेखक प्रेस सेन्टर नेपालकापदाधिकारी हुन् ।