पर्सामा स्थानीय स्तरको सुरक्षा समन्वयका लागि नयाँ प्रयोग, फिल्ड कमाण्डरहरुसँग प्रत्यक्ष संवाद अभ्यास

पर्सामा स्थानीय स्तरको सुरक्षा समन्वयका लागि नयाँ प्रयोग, फिल्ड कमाण्डरहरुसँग प्रत्यक्ष संवाद अभ्यास

वीरगञ्ज, २२ कार्तिक । जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न स्थानीय स्तरमा प्रभावकारी समन्वयका लागि सुरक्षा समितिको नयाँ अभ्यासको थालनी गरेको छ ।

निर्वाचनमा सुरक्षालाई भरपर्दो बनाई शान्ति सुव्यावस्था कायम गर्नका लागि स्थानीय स्तरमा सुरक्षामा खटिएका कमाण्डरहरुलाई संभावित घटनाको अध्ययन तथा घटनाको तत्काल समाधान र अपनाउनुपर्ने सुरक्षा रणनीतिहरुको विषयमा जानकारी गराई प्रभावकारी सुरक्षा दिन निर्देशन दिईएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी ढकालको अध्यक्षतामा पर्साको सखुवा प्रसौनी स्थित नेपाली सेनाको ब्यारेकमा आयोजित छलफलमा निवार्चन अघि, निर्वाचनको दिन र निर्वाचन पश्चातका अवधिमा हुन सक्ने विभिन्न सुरक्षा चुनौतीहरु उच्च मनोबलका साथ कार्य क्षेत्रमा खटिन निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारीको अधिकारीको अधिकार प्रयोग गर्ने गरी जिल्ला सुरक्षा समितिका पदाधिकारी, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ३ र ४ का खटिने घुम्ती टोलीका प्रमुखहरु र उक्त निर्वाचन क्षेत्रको सुरक्षार्थ फिल्डस्तरमा खटिने मोबाईल, स्ट्राईकिङ्ग, घुम्ती टोलीलाई तयारी अवस्थामा रहन निर्देशन गरिएको प्रजिअ ढकालले बताउनुभयो ।

उहाँका अनुसार सुरक्षा योजना अनुसार पर्सामा पहिलो पटक यस्तो अभ्यास गरिएको हो । मंगलबार निर्वाचन क्षेत्र नम्बर ३ र ४ को सम्पन्न गरिएको र क्षेत्र नम्बर १ र २ मा पनि यस्तै अभ्यास गरिने उहाँले बताउनुभयो ।