‘गोतामे पत्रकारिता स्वर्ण पदक’ अन्नपूर्णकर्मी झालाई प्रदान
वीरगन्ज, २ फागुन । वीरगन्ज, २ फागुन । यस वर्षको ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ अन्नपूर्णपोष्टको मधेस प्रदेश ब्यूरो प्रमुख मनिका झालाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित पुरस्कार वितरण समारोहमा पत्रकार झालाई पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले पत्रकार झालाई एकतोलाको सुनको तक्माले पुरस्कृत गर्नुभएको थियो ।
त्यस्तै पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कदरपत्र र गोपालचन्द्र गौतमकी श्रीमती सुधा गौतमले अविर माला र दोसल्ला ओढाएर पत्रकार मोनिका झालाई सम्मान गर्नुभएको थियो । उहाँ नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्ष र प्रेस सेण्टर नेपाल धनुषाकी पूर्व अध्यक्ष पनि हुनुहुन्छ ।
वीरगञ्जका दिवंगत पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा १३ वर्ष अघि स्थापित पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले हेरक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । गएको माघ १६ गते बसेको पत्रकार गोपाल चन्द्र गौतम प्रतिष्ठानको बैठकले १३ औं ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ पत्रकार झालाई दिने निर्णय गरेको थियो ।
समाजिक उत्तरदायित्व निर्वाह गर्दै अब्बल पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष एक तोला सुनको तक्मा पुरस्कार प्रदान गर्ने गरिएको प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले बताउनुभयो ।
शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोरले गोपाल चन्द्र गौतमको जीवनी र प्रत्रकारिताको विषयमा प्रकाश पार्नुभएको प्रतिष्ठानका कोषाध्यक्ष शत्रुघ्न नेपालले जानकारी दिनुभयो ।