मधेसलाई सुक्खा क्षेत्र घोषणा गर्न पर्सा क्षेत्र नम्बर १ का सांसद यादवको माग

मधेसलाई सुक्खा क्षेत्र घोषणा गर्न पर्सा क्षेत्र नम्बर १ का सांसद यादवको माग

वीरगञ्ज, १० साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले तराई(मधेसलाई सुक्खा क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय मागेर बोल्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद यादवले तराई–मधेसमा अहिले पानीको हाहाकार अवस्थातर्फ सरकारको ध्यानाकर्षण गराउँदै सुक्खा क्षेत्र घोषणा गर्न माग गर्नुभएको हो । 

पहिले ५० देखि १०० फिट गाडिएका चापाकलहरूमा पानी आउने गरे पनि अहिले ३०० फिट खनेर गाड्दा पनि पानी नआउने भन्दै तराईवासीहरू एक थोपा पानीका लागि तर्सिरहेका, राती भरि पानीको लागि लाइन बसिरहेकाले यो अवस्थालाई सहज बनाउन सरकारको ध्यानकर्षण गराउनुभयो । 

मधेसमा विद्यमान पानीको समस्याबारोन प्रधानमन्त्रीलाई जानकारी गराए पनि बजेट अभावका कारण समस्या समाधान हुन नसकेको सुनाउँदै उहाँले सरकारसँग रहेको आकस्मिक बजेटलाई प्रयोग गर्न माग गर्नुभयो ।

कर्मचारीहरूले बजेट नहुँदा काम गर्न अप्ठ्यारो भएको बताउने गरेको बताउदै सांसद यादवले पानीका लागि तर्सिरहेका तराईवासीको लागि सरकारले यतिकै राखिराखेको आकस्मिक कोष प्रयोग गर्न एकदमै आवश्यक रहेको बताउनुभयो । 

सोही क्रममा उहाँले प्रमुख निर्वाचन आयुक्तलाई महाभियोग लगाउन पनि माग गर्नुभयो । प्रमुख निर्वाचन आयुक्तले निर्वाचन खर्च नबुझाएका उम्मेदवारहरुको विषयमा सार्वजनिक गरेको विवरणमा आफ्नो चरित्रहत्या गर्ने मनसायले विज्ञप्ति निकालेको आरोप लगाउँदै महाभियोग लगाउन माग गर्नुभएको हो । 

समयमै निर्वाचन खर्चको विवरण पेस गरेको र जिल्ला निर्वाचन कार्यालयमा त्यसको रेकर्ड रहनुको साथै फेसबुकमार्फत पनि सार्वजनिक गरेको भएपनि कानुनको आफैँ व्याख्या गरेर निर्वाचन आयुक्तले जरिवाना तोकेको यादवको भनाई छ । यस्तो कार्य खेदजनक रहेकोले प्रमुख निर्वाचन आयुक्तलाई माफी माग्न समेत अनुरोध गर्नुभयो ।