मधेस प्रदेशमा ७ लाख जनसंख्या बढ्यो
वीरगन्जं, १२ माघ । मधेस प्रदेशमा सात लाख जनसंख्या थपिएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार नेपालको कुल जनसंख्याको सबैभन्दा धेरै जनसंख्या मधेस प्रदेशमा बसोबास रहेको जनाएको छ।
राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० जनसंख्यामध्ये सबैभन्दा धेरै मधेसमा बसोबास रहेको देखिएको हो । नेपालको कुल जनसंख्याको २१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा बसोबास गर्ने गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
मधेश प्रदेशमा ६१ लाखभन्दा बढीको जनसंख्या बसोवास गरेको तथ्यांकले देखाएको छ । यसअघि २०६८ को जनगणनामा मधेस प्रदेशमा ५४ लाख भन्दा बढी जनसंख्या रहेको थियो । मधेस प्रदेशपछि बागमतीमा ६० लाख जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ ।यस्तै सबैभन्दा कम जनसंख्या गण्डकी प्रदेशमा छन् ।
यस्तै, यो १० वर्षमा प्रतिपरिवार जनसंख्यामा पनि गिरावट आएको छ । २०६८ सालमा नेपालमा एउटा परिवारमा ५ जना बस्थे । अहिले प्रतिपरिवार ४।३२ जना बस्न थालेका छन् । यसपछि बागमती प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको यो वर्षको जनगणनाले देखाएको छ ।