अन्ततः गठबन्धनमा फुक्यो गाँठो, वीरगन्ज जसपा र पोखरा नेकपा ‘एस’ ले पाउने

अन्ततः गठबन्धनमा फुक्यो गाँठो, वीरगन्ज जसपा र पोखरा नेकपा  ‘एस’ ले पाउने

वीरगन्ज । पटक पटकको छलफलपछि सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । स्रोतका अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ । मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक–एक महानगरको नेतृत्व लिने सहमति गरेको हो ।

नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने  सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने उनले बताए । यसअघि पोखरा महानगरपालिकामा नेपाली कांग्रेसले पनि दावी नछोडेपछि गठबन्धन दललाई सहमति गर्न सकस भएको थियो ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गण्डकी प्रदेशका सभापति र कास्कीका सभापति सहितका नेताहरुलाई कामाडौं बोलाएर छलफल भएपछि सहमतिमा सहज भएको हो ।

गठबन्धनबीच ६ वटा महानगरपालिकामा कांग्रेसलाई काठमाडौं र विराटनगर दिने र अन्य दलहरुले एक एक वटा महानगरपालिका लिने लगभग सहमति भएको थियो । तर, पोखरा महानगरपालिकाको विषयमा नेपाली कांग्रेसका नेताहरुले नमानेपछि टुंगो लगाउन सकिएको थिएन ।