माधव नेपालले गरे केपी ओलीको ज्ञानेन्द्रसँग तुलना
१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गरेका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले भृकुटीमण्डपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले पूर्वअध्यक्ष एवं प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । ओलीका कारण जनतालाई सुख कम, दुःख ज्यादा पाएको, मान कम, अपमान ज्यादा सहेको बताए […]
१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गरेका छन् ।
संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले भृकुटीमण्डपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले पूर्वअध्यक्ष एवं प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे ।
ओलीका कारण जनतालाई सुख कम, दुःख ज्यादा पाएको, मान कम, अपमान ज्यादा सहेको बताए । ओलीले म्यानुपुलेसनमा विश्वास गर्ने गरेको र एकै दिन धेरै कार्ड खेल्ने गरेको बताए ।
उनले त्यसलाई यसरी ब्याख्या गरे –
कमरेड बामदेवलाई बिहान ११ बजे बोलाएर भन्नुहुन्छ, म आजै छोड्न चाहन्छु, तपाई प्रम हुनुपर्यो । उपचुनाव गरेर भएपनि ल्याउन आतुर छु । राष्ट्रिय सभाबाट आउने भएपनि संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउन तयार छु । पार्टीको महाधिवेशन गरेर एकल अध्यक्ष बनाउन पनि आतुर छु ।
१२ बजे मलाई बोलाएर भन्नुहुन्छ, अरु कोही काबिल भएनन् माधव कमरेड । तपाई नै प्रधानमन्त्री हुनुपर्यो, पार्टीको एकल अध्यक्ष हुनुपर्यो । अनि, ४ बजे कमरेड प्रचण्डलाई बोलाएर भन्नुहुन्छ, कोही गतिला मान्छे पाइनँ मैले । तपाईभन्दा गतिलो कोही छैन । तपाई एकल अध्यक्ष हुनुपर्छ, प्रधानमन्त्री पनि बन्नुपर्छ ।
जब तीन जना हामी भेला हुन्छौं, जम्मै भण्डाफोर हुन्छ । ठीक यही प्रवृत्ति थियो तत्कालीन राजा ज्ञानेन्द्रमा । मलाई बेलाएर भन्नुहुन्थ्यो, गिरिजाप्रसाद विदेशी दलाल हो, यसले त देश नै खाने भयो । नेपाली कांग्रेस काम नै लाग्दैन । कम्युनिस्टमा देशभक्ति हुन्छ, माधवजी, तपाईले भुमिका खेल्नुपर्छ ।
म त्यहाँ हिँडेपछि गिरिजाबाबुलाई बोलाएर भन्नुहुन्थ्यो, कम्युनिस्टहरु तानाशाहहरु हुन् । नेपालमा यसको नामेट गर्नुपर्छ । माधव नेपाल जस्ताले केही गर्न सक्छ ? गिरिजाबाबु तपाईँ त महान मान्छे ।
जब हामीले दुबैले के कुरा भयो हँ भनेर सोध्यौं । पोल खोलाखोल भयो । हामीले सल्लाह गर्यौँ, अब भेट हुँदा एकले अर्कालाई जानकारी गराउने । पोल खुलेपछि संयुक्त रुपमा जान थाल्यौं । संयुक्त रुपमा गएर पनि पार लागेन, जान छोडिदियौं । सडकको बाटो सामात्यौं, आन्दोलनको आँधीबेहरी सृष्टि गर्यौं र त्यसपछि राजतन्त्रको अन्त्य भयो । बडो लाजमोर्दो कुरा हो, पार्टीभित्र पनि यस्ता तत्व जन्मिँदो रहेछ ।