बारबारा फाउण्डेशन राष्ट्रिय पुरस्कारबाट वीरगन्जका डा. सिंह र नर्स चौधरी सम्मानित
वीरगन्ज, १६ साउन । बारबरा फाउण्डेशनले प्रदान गर्ने राष्ट्रिय पुरस्कार वीरगन्जका दुईजनालाई प्रदान गरिएको छ । स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई सम्मन गरिने यो पुरस्कारबाट कोभिड महामारी विरुद्ध अग्रपंक्तीमा खटिएका वीरगन्जको नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर नीरज सिंह र नर्स सुभद्रा चौधरीलाई बारबरा फाउन्डेशनले शनिबार राष्ट्रिय पुरस्कारबाट सम्मानित गरेको हो ।
काठमाण्डौमा शनिबार विशेष समारोहमा पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवद्वारा डाक्टर सिंह र नर्स चौधरीलाइ उक्त पुरस्कार प्रदान गरिएको छ । नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइत अध्यक्ष रहेको बारबरा फाउन्डेसनले कोभिड महामारी विरुद्ध अग्रपंक्तिमा खटिने देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्य कर्मचारी र एम्बुलेन्स चालकको सम्मानका लागि १ करोड १ रुपैयाँको पुरस्कार घोषणा गरेको थियो ।
फाउण्डेशनले कोभिड महामारी विरुद्ध अग्रपंक्तीमा खटिए बापत प्रदेश २ बाट नारायणी अस्पतालका डाक्टर सिंह र नर्स चौधरी छनौटमा पर्नुभएको हो । डाक्टर सिंहले पाउन पुरस्कारको राशी २ लाख ५० हजार रुपैया नगद र नर्स चौधरीले पाउने पुरस्कारको राशी १ लाख २५ हजार रहेको फाउण्डेशनले जनाएको छ ।