चीन र जापानमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै
वीरगन्ज, १६ साउन । चीनको नाञ्जिङ सहरबाट कोरोना भाइरस अन्त फैलिएको छ । नाञ्जिङमा भाइरस फेला परेपछि अरु पाँच प्रान्त र राजधानी बेइजिङसम्म विस्तार भएको छ । विज्ञहरुले अहिलेको अवस्थालाई वुहानपछिको सबैभन्दा खराब अवस्थाको संज्ञा दिएका छन् ।गएको जुलाई २० तारिकमा नाञ्जिङ विमानस्थलमा एक जनामा कोरोना भाइरस फेला परेको थियो ।
त्यसपछि झन्डै दुई सय जना सङ्क्रमित भइसकेका छन् । सङक्रमण फैलिएका सहरमा व्यापक परीक्षण सुरु भएको छ । सहरका ९३ लाख बासिन्दा र आगन्तुकको परीक्षण गरिने चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।कोरोना भाइरसको अतिसङ्क्रामक डेल्टा भेरियन्टका कारण सङ्क्रमण फैलिएको हो । भाइरस चङ्दु र बेइजिङसहित १३ वटा सहरमा फैलिसकेको पुष्टि भएको छ ।
अहिले प्रारम्भिक चरण भएकाले नियन्त्रण गर्न सकिने विज्ञहरूले बताएका छन् । सरकारी निकायले परीक्षण गराउन जाँदा मास्क लगाउन, एक मिटरको दूरीमा उभिन तथा पालो कुर्दा अरूसँग कुरा नगर्न आग्रह गरेका छन् ।
यस्तै कोरोनाको जोखिम बढेसँगै जापानको राजधानी टोकियोसहित वरपरका क्षेत्र र ओसाका सहरमा प्रतिबन्ध लगाइएको छ । टोकियोमा भइरहेको ओलम्पिक खेलको समयमा कोरोनाको जोखिम बढेसँगै आपतकालीन अवस्थामा प्रतिबन्धलाई राजधानी आसपासका क्षेत्रमा पनि विस्तार गरिएको बीबीसीले जनाएको छ ।
प्रतिबन्धको अवस्थामा होटेल, रेस्टुरेन्ट तथा रक्सी पसल बन्द गरिएका छन् । अहिलेलाई प्रतिबन्ध ३१ अगस्टसम्म लगाइएको हो । संक्रमण बढ्दै गए लम्ब्याइने जनाइएको छ । हिजो मात्रै ओलम्पिकमा सहभागी थप २७ जनामा कोरोना संक्रमण देखिएको ओलम्पिक सञ्चालक कमिटीले जनाएको छ । अभूतपूर्व रुपमा कोरोनाको संक्रमण फैलिरहेको भन्दै जापानका प्रधानमन्त्री योसिदी सुगाले ओलम्पिक खेल घरबाटै टिभीमा हेर्न आग्रह पनि गर्नुभएको छ ।
जापानमा डेल्टा भेरियन्ट संक्रमणका नयाँ केसहरु देखिएका छन् । यसअघि जापानका स्वास्थ्यमन्त्री नोरिहिसा तमुराले जापानले कोरोनाको डरलाग्दो रुपको सामना गर्नुपर्ने भन्दै सचेत गराउनुभएको थियो । जापान अहिलेसम्म कोरोना नियन्त्रणमा सफल देखिएको भए पनि पछिल्लो समय बढ्दै गएको संक्रमण दरले अवस्था भयावहतर्फ जानसक्ने बताइएको छ ।