नेपाल भारत सीमा नाका खोल्ने सरकारको निर्णय, व्यावहारिक कार्यान्वयनमा अझै अन्योल
वीरगन्ज, ९ असोज । नेपाल भारत सीमा नाका खोल्ने मन्त्री परिषदले निर्णय गरेपनि वीरगन्ज रक्सोल सीमा भने अझै खुला भएको छैन । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले २०७७ चैत ११ गतेदेखि सीमा नाका बन्द गरेको थियो । लामो समयदेखि बन्द रहेको सीमा नाका असोज ५ गते मंगलबारको मन्त्री परिषदको बैठकले नेपाल भारतका सबै सीमा नाका खोल्ने निर्णय गरेको थियो ।
असोज ५ गते भएको मन्त्रीपरिषदको निर्णय प्रकृयागत रुपमा गृह मन्त्रालयमा गएर त्यहाँबाट ७७ वटै जिल्लामा आईपुग्न समय लाग्दा सीमा हुनेमा अन्योलता देखिएको हो । गृह मन्त्रालय मातहतको जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरुमा सीमानाका सहज बनाउन सहजीकरण गर्नेे परिपत्र आईसकेको छ । तर, भन्सार विभाग मातहतका भन्सार कार्यालयहरुमा परिपत्र नआउँदा नाका खोल्ने विषयमा अन्योलता देखिएको हो ।
गृहमन्त्रालयले सीमा नाकामा सहज बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरिसकेको छ । तर, भारतीय सवारी साधानको हकमा भन्सार पास कटाएर आउनुपर्ने भएकोले भन्सार विभागले भन्सार कार्यालयहरुलाई परिपत्र नगर्दा सीमानाका बाट भारतीय सवारी सधान आउन अझै समय लाग्ने भएको हो ।
वीरगन्ज आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्वप्रसाद अर्यालले भन्सार विभागबाट भारतीय सवारी साधनलाई प्रवेश गर्न दिईने अस्थायी पास जारी गर्ने निर्देशन नआएको बताउनुभयो । भारतीय सवारी साधन नेपाल प्रवेश गर्दा भन्सार कार्यालयमा अस्थायी प्रवेश अनुमति लिएर मात्रै आउन पाउने व्यावस्था छ ।
तर, भन्सार विभागले अहिले नै अस्थायी प्रवेश अनुमति जारी गर्न भन्सार कार्यालयलाई निर्देशन नदिएसम्म भन्सार कार्यालयले अस्थायी प्रवेश अनुमति दिन नसक्ने प्रमुख भन्सार प्रशासक अर्याले बताउनुभयो । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलेपनि सीमा नाका खोल्ने विषयमा गृहमन्त्रालयसँग सम्पर्क भईरहेको बताउनुभयो ।
मन्त्री परिषदले गरेकोे निर्णयपछि पनि सीमा नाका खोल्न यति धेरै समय लाग्दा सीमाक्षेत्रका होटल तथा पर्यटन व्यवसायीहरु भने सरकारको सुस्त कामकारवाही प्रति असन्तुष्टी व्यक्त गरेका छन् ।