‘पैदल हिडेर देशको किर्तिमान राखेँ, अपमानित महशुस गरेको छु' : पैदल यात्री शेख मून्ना
वीरगन्ज, ५ असोज । वीरगन्जदेखि दिल्लीसम्मको १०६० किलोमिटर दूरी पैदल यात्रा हिडेर २२ दिनमा पूरा गरेका वीरगन्जका ३० बर्षीय युवा शेष मून्नाले देशको नाम राखेपनि आफूलाई वेवास्ता गरेको दुखेसो गर्नुभएको छ । साउन २१ गते वीरगन्जबाट पैदल यात्रा शुरु गर्नुभएको २२ दिनमा भारतको दिल्लीको संसद भवनमा पुग्नुभएको थियो ।
उहाँ ३९ दिनपछि वीरगन्ज आईपुग्नु भएको थियो । वीरगन्जबाट पैदल यात्रा शुरु गर्दा वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले विदाई गर्नुभएको थियो । आउने बेलामा भने उहाँलाई स्वागत गर्न वीरगन्जका विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु पुगेका थिए । झण्डै ११ सय किलोमिटर पैदल नै हिडेर २२ दिनमा पूरा गरी विश्व किर्तिमान राखेपनि आफ्नो देशमा भने आफूलाई अपमान गरेको महशुस गरेको गुनासो उहाँले गर्नुभयो ।
बुधबार वीरगन्जमा पत्रकार सम्मेलन नै गरेर अमेरिका, फ्रान्स र भारतका नागरिकले पैदल हिडेर राखेको किर्तिमानी तोड्दा समेत राज्यका कुनैपनि निकाय र व्यक्तिहरुले बधाई समेत नदिँदा आफू अपमानित भएको बताउनुभयो ।
उहाँले पत्रकार सम्मेलनमा आक्रोशित हुदै भन्नुभयो, “मैले नेपाल र भारतको रोटी बेटीको सम्बन्धलाई बलियो बनाउन, नेपालको नाम संसारमा राख्न र सीमाक्षेत्रमा महिलाहरुले भोग्नु परेको घरेलु हिंसाको न्यूनीकरणका लागि पैदल हिडेर किर्तिमान कायम गर्दा समेत यो समाज र राज्यले अझै बेवास्ता गर्दा आफू नेपाली नागरिक हुनु नै दुर्भाग्य भएको अनुभूति भएको छ । मलाई अहिलेसम्म कुनैपनि राजनीतिक दलका नेता, मन्त्री, मुख्यमन्त्री त परै को कुरा मेरो महानगरको सरकारले समेत सोधेन दुःख लाग्यो ।”
उहाँले पैदल यात्रा गरेर नेपाल र भारतबीचको सम्बन्धलाई अझ बलियो बनाउन सहयोग पुर्याउन खोजेको, नेपाली चेलीहरुले भारतमा विवाह गर्दा भोग्नु परेको समस्या सामाधानका लागि सचेत गराएको र नेपालका मधेसीहरुलाई पनि गोर्खा भर्तीमा प्रवेश पाउनुपर्छ भन्ने सन्देश दिएको बताउनुभयो ।
भारतका सञ्चार माध्यमहरुले पनि समाचारहरु राम्रो सम्प्रेषण गरेपनि नेपाली सञ्चार माध्यमहरुले खासै महत्व नदिएको गुनासो मून्नाको छ ।