बाढी पीडितलाई जापानबाट आर्थिक सहयोग
वीरगन्ज, १८ साउन । बाढी पहिरोले घर बगाएर कठिन रुपमा जीवनयापन गरिरहेका बाढी पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । लाल तामाङले जापानबाट संकलन गरी पठाएको तीन लाख रुपैंया बाढी पीडित परिवार र तटबन्धन गर्न हस्तान्तरण गरिएको हो । लम्जुङको दोर्दी गाउँपालिका ८, हिलेबजारमा असार १ गते आएको बाढीबाट घर विहिन १८ र आर्थिक अवस्था निक्कै कमजोर भएका एक गरी १९ परिवारलाई १० हजार रुपैंयाका दरले रकम वितरण गरिएको थियो ।
वडा अध्यक्षको संयोजकत्वमा रहेको स्थानीय तटबन्धन व्यवस्थापन समितिका लागि सहयोग संकलक लाल तामाङकी श्रीमती कृष्णकुमारी तामाङले वडा सदस्य चन्द्रबहादुर गुरुङलाई नगद एक लाख रुपैंया हस्तान्तरण गर्नुभयो । कार्यक्रममा दोर्दी गाउँपालिका ८ का वडा सदस्यहरु चन्द्रबहादुर गुरुङ, सुकबहादुर गुरुङ र यादमायाँ घले तथा हिलेबजार तामाङ समाजका अध्यक्ष बे बहादुर तामाङ, सहयोगी कृष्णकुमारी तामाङ लगायतले रकम हस्तान्तरण गरेका थिए ।
लाल तामाङको परिवारबाट एक लाख, लक्की आनबाट २० हजार, विष्णु पाण्डेबाट १२ हजारसहित २२ जनाले जापानबाट उक्त तीन लाख रकम पठाएका थिए । असार ३१ गते रातिको भीषण वर्षापछि आएको बाढीले हिलेबजारका १८ घर बगाएको छ । ४३ घर उच्च जोखिममा र ५३ घर जोखिममा परेको छ भने एउटा सामुदायिक भवन बगाएको छ । हिलेबजारमा कूल एक सय १४ घर रहेका छन् । दोर्दी खोलामा झण्डै आधा दर्जन जलविद्युत आयोजना निर्माण गर्दा सावधानी नअपनाईएकोले बाढीले क्षति पुर्याएको स्थानीयवासीको आरोप छ ।