अख्तियारको नाकैमुनी भ्रष्टाचारको दुर्गन्ध, १६ सयको जरिवाना मिलाउन ५ हजारको घुस 

वीरगन्ज, १ कार्तिक । जनताको करबाट राष्ट्रसेवक कर्मचारी भनिएकाहरुले जनतालाई नै दुःख दिनेको पनि सीमा नाघेका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि घटनाको फेहरिस्त बाहिर आएको हो । अख्तियारको सम्पर्क कार्यालय नै रहने जिल्ला प्रशासन कार्यालयमा नै कर्मचारीहरु घुस सहित रंगेहात पक्राउ परेका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच हजार घुस रकम सहित कम्प्यूटर अपरेटर पक्राउ परेका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा फाँटमा कार्यरत कम्प्यूटर अपरेटर सञ्जय प्रसाद यादव १६ सयको जरिवाना मिलाउन ५ हजार घुस लिदैं गर्दा पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा शाखामा छापामारी गरेको थियो । मुद्दा शाखाबाट घुस माग गरेको सेवाग्राहीको गुनासोपछि खटिएको टोलीले कम्प्युटर अपरेटर यादवलाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

सेवाग्राहीसँग लिएको ५ हजार घुस रकमसहित यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले पनि पुष्टी गर्नुभयो । १६ सय जरिवाना तोकेर रोक्का राखिएको जग्गा फुकुवा गराईदिने भनी यादवले सेवाग्राहीसँग घुस रकम माग गरेको बुझिएको छ ।

जनताको करबाट राष्ट्रसेवक कर्मचारीको रुपमा कार्यरत कर्मचारीबाट जरिवाना रकम भन्दा तेब्बर बढी रकम घुस नै लिन थाल्छन् भने यो देशमा नागरिकले सुशासन कहाँ खोज्ने ? हुनत अख्तियार दूरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख दीप बस्न्यात नै भ्रष्टाचारको आरोपमा जेल परेरपनि नसुध्रिएको देश नेपालमा सुशासनको अपेक्षा गर्नु नागरिककै दोष होला !