पर्सामा बालिका समावेशी शिक्षा सञ्जाल गठनका लागि एकदिने कार्यशाला गोष्ठी सम्पन्न
वीरगन्ज, ३१ असोज । किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम अन्तर्गत बालिका समावेशी शिक्षा सञ्जाल गठन सम्बन्धी एकदिने कार्यशाला गोष्ठी भिस्वा होटलमा सम्पन्न भएको छ । भिएसओ नेपाल, दिव्य युवा क्लब र आसमान नेपालले संयुक्त रुपमा संचालन गरेको किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम अन्तर्गत अहिलेसम्म पर्साको ८ वटा गाउँपालिकामा सञ्जाल गठन गरिएको र यसले महिला हिंसा न्यूनीकरण, समुदाय र विद्यालयमा हुने बालिका हिंसा रोक्न सहयोग गरेको भिएसओ नेपालका कन्सोर्टियम मेनेजर श्यामकृष्ण मण्डलले बताउनुभयो ।
उहाँले स्थानीय तहमा नीति निर्माण गर्दा महिला र बालबालिकाको पक्षमा बनोस, निर्णय प्रकृयाहरुमा र योजना तर्जुमा गर्दा बालिका र महिलाहरुलाई प्राथामिकता दिईनुपर्ने, समुदाय र विद्यालयमा हुने हिंसा न्यूनीकरणका लागि पनि सञ्जालले काम गर्ने मण्डलले बताउनुभयो । सञ्जाल गठन गरिसकेपछि पालिकाका बालिका र महिलाहरुको नेतृत्व विकास भएको, समुदायमा महिला र बालिकाहरुले अवसर पाएको र अरुलाई पनि सिकाउनु पर्दो रहेछ भन्ने भावनाको विकास भएको र दुव्र्यवहार हुँदा प्रतिवाद गर्नुपर्छ भन्ने क्षमताको विकास भएको पनि आसमान नेपालका जिआईएन लिड कोअर्डिनेटर शेखर सापकोटाले बताउनुभयो ।
किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रमले बालिका समावेशी शिक्षा सञ्जाल गठन गर्न सहज भएको र यसलाई विभिन्न गाउँपालिकामा पनि गठन गरेर कसरी कर्यान्वयनमा ल्याउन सकिन्छ भनेर स्थानीय तहलाई जानकारी गराउन कार्यशाला गोष्ठी आयोजना गरिएको इंगेज परियोजनाका कार्यक्रम संयोजक गणेश बहादुर ठकुरीले बताउनुभयो । सञ्जाल गठनको कार्यविधि पर्साका स्थानीय तहहरुले निर्माण गरिसकेकोले त्यसलाई अनुमोदन गर्ने स्थानीय तहले प्रतिवद्धता जनाएको ठकुरीले बताउनुभयो ।
दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशको समाजिक विकास मन्त्रालयका सचिव लक्ष्मी भट्टराई, सहसचिव चुडामणी फुयाँल, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रुद्रमणी भट्टराई, पर्साका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, शैक्षिक शाखाका प्रमुख लगायतको उपस्थिति रहेको दिव्य युवा क्लबको इंगेज परियोजनाका कार्यक्रम संयोजक गणेश बहादुर ठकुरीले जानकारी दिनुभयो ।