अकोराबका निवर्तमान महासचिव देवकोटाद्वारा सामुदायिक रेडियो माडीलाई ५० हजार प्रदान
वीरगन्ज, २६ असोज । सामुदायिक रेडियो प्रसारक संघ (अकोरा) का निवर्तमान महासचिव एवम् सामुदायिक रेडियो नारायणी एफ विरगञ्जका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले सामुदायिक रेडियो माडीलाई ५० हजार रकम हस्तान्तरण गर्नुभएको छ ।
दिवाकर सञ्चार केन्द्रद्रारा सञ्चालित सामुदायिक रेडियो माडी १०७.६ मेगाहर्जको चौथो अधिवेशनमा अक्षयकोष स्थापनाका लागि ५० हजारको चेक हस्तान्तरण गर्नुभएको हो । उहाँले सामुदायिक रेडियोको मर्मअनुसार नै रेडियो माडी स्थापना भएको जनाउँदै सामुदायिक रेडियोलाई राजनीतिक आँखाले हेर्न नहुने बताउनुभयो ।
सामुदायिक रेडियोको संरक्षण र विकास गर्नको लागि स्थानीय सरकारको पनि जिम्मेवारी रहेको जनाउँदै रेडियोको अक्षयकोष स्थापना गर्नको लागि ५० हजार सहयोग गरेको बताउनुभयो । अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले गर्नुभएको थियो ।
उहाँले माडीका अग्रजहरुले देखाएको बाटोलाई अनुकरण गर्दै अगाडि बढेमा मात्र माडीको विकास सम्भव हुने बताउनुभयो । सबैको सामुदायिक प्रयासले सामुदायिक रेडियो माडीको स्थापना भएको जनाउँदै सञ्चार माध्यमहरुलाई संरक्षण र विकास गर्नको लागि माडी नगरपालिकाको सहयोग गरिरहेको जानकारी दिनुभयो ।
उहाँले माडीका रेडियोहरुलाई एकीकृत गरी गुणात्मक विकास गर्नुपर्ने आवश्यकता औंल्याउँनुभयो । सामुदायिक रेडियो माडीका अध्यक्ष सूर्यप्रसाद पाठकले रेडियोले ४ वर्षमा विविन्न गतिविधिसहितको प्रगतिको प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान समयमा सामुदायिक रेडियो सञ्चालन गर्न विभिन्न चुनौती रहेकाले सामुहिक एकता र सहकार्यबाट रेडियोको विकास गर्न सकिने बताउनुभयो ।
अधिवेशनको उद्घाटन कार्यक्रममा रेडियो माडीका संस्थापक अध्यक्ष एवम् स्वदेश एफ एमका प्रमुख देवअञ्जान शाह, नेकपा एमाले माडी नगर कमिटिका अध्यक्ष रेशमलाल आचार्य, रेडियोका सल्लाहकारहरु प्रेम तिमिल्सिना, सुरेश रानाभाट ,सञ्चालन समितिकी सदस्य कुनिजा पोख्रेलले, नेपाल पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य एवम् रेडियोका सञ्चारकर्मी भूपराज पाठक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।