सीमाक्षेत्रमा तस्करी निर्वाध

सीमाक्षेत्रमा तस्करी निर्वाध

वीरगन्ज, २१ भदौ । नेपाल भारत सीमाक्षेत्रबाट तस्करी निर्वाध भईरहेको छ । विभिन्न हार्डवेयर, लत्ताकपडा, स्पेयरपार्ट्स र माछा अवैध रुपमा भन्सार छलेर भित्र्याउने गरिएको छ । नेपाल भारतको खुला सीमामा हुने अवैध कारोबार नियन्त्रणमा लागि तैनाथ गरिएका सुरक्षाकर्मीहरुको आँखा छलेर तस्करी हुने गरेको छ । कतै भने सुरक्षाकर्मीकै मिलेमतोमा पनि खुलेआम तस्करी हुने गरेको स्थानीयहरुले आरोप लगाउने गरेका छन् । सुरक्षा निकायले भने सीमा क्षेत्रमा शतप्रतिशत तस्करी रोक्न नसकिने प्रतिक्रिया दिने गरेका छन् ।

हार्डवेयर, लत्ताकपडा, स्पेयर पार्ट्स मात्रै होईन, नेपाल आत्मनिर्भर भईसकेको माछा पनि अहिले भारतबाट वीरगन्जको इनर्वा हुदै व्यापक रुपमा अवैध ओसार पसार हुने गरेको छ । एकदिनमा नै दुई हजारवटा साईकलमा भारतीय माछाको तस्करी हुने गरेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । भारतबाट तस्करी गरिने माछा इनर्वा नाका हुदै वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६ नगवामा गोदामा भण्डारण गर्ने गरिएको स्रोतको भनाई छ ।

नगवामा माछा व्यापारीहरुले गोदाम नै लिएको र भारतबाट तस्करी गरिएको माछा गोदाममा भण्डारण गरि नेपालको विभिन्न बजारमा लैजाने गरेको छ । नगवाका गरभु साह तुराहा, बिपिन साह तुराहा र अजय कुमार साह तुराहा माछाका मुख्य व्यापारी हरु हुन् । उनीहरुले भारतबाट दैनिक साईकलमा ओसार्न लगाउने र नगवामा गोदाममा भण्डारण गर्ने गरेको स्रोतको दावी छ । 

एउटा साईकलमा लोड गरिएको एक क्रेटमा ४२ केजी माछा आउने गरेको छ । स्रोतका अनुसार ४२ केजीको दर दैनिक झण्डै दुई हजार वटा साईकलमा माछा तस्करी हुने गरेको छ । ४२ केजीको माछामा ५५ रुपैंयाको भन्सार लाग्ने र यसरी दैनिक कूल ४६ लाख २० हजार रुपैंयाको राजस्व छली हुने गरेको स्रोतको दावी छ ।

भर्खरै सरुवा भएका वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिलिप केसीले भने ताजा माछाको भन्सार नलाग्ने र अन्य प्रकारका माछाको भन्सार १३ प्रतिशत भ्याट र मूल्यमा ९ प्रतिशत भन्सार महशुल लाग्ने बताए । यसरी औसतमा दुईहजार वटा साईकलमा ४२ केजीको दरले माछा तस्करी हुँदा दैनिक ८४ सय केजी माछा अवैध रुपमा वीरगन्ज भित्रिने गर्छ ।

माछा आयात गर्दा एलसी खोलेरै आयात गर्नुपर्ने र एलसीमा शतप्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधानले पनि तस्करी बढेको हुनसक्ने प्रमुख भन्सार अधिकृत केसीको अनुमान छ ।

 यसरी अवैध रुपमा भित्रिने माछाको मात्रै दैनिक लाखौ रुपैंयाको राजस्व गुम्दा अन्य सामानहरुको पनि अवैध ओसारपसारमा भएको वृद्धिले महिनामा करोडौं रुपैंयाको भन्सार राजस्व राज्यले गुमाईरहेको छ । अहिले चाडपर्वहरु पनि नजिक आएकोले खाद्य तथा उपभोग्य वस्तुको बढी खपत हुने भएकोले पनि सीमा क्षेत्रमा अवैध कारोबारमा वृद्धि हुने गरेको हो ।