१२ जना सहसचिव र उपसचिवहरुको सरुवा
वीरगन्ज, १ कात्तिक । गृह मन्त्रालयले १२ जना सहसचिव र उपसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट १२ जना सहसचिव र उपसचिवहरुको काज सरुवा सहित जिम्मेवारी हेरफेर गरिएको हो ।
पर्सा र चितवनमा सहायक प्रमुख जिल्ला अधिकारी रही सक्नु भएका इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नेत्र प्रसाद शर्मा मुस्ताङको प्रमुख जिल्ला अधिकारी हुनु भएको छ । यसैगरी गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई अर्घाखाँची सरुवा गरिएको छ ।
अर्घाखाँचीका प्रजिअ विष्णु पौडेललाई गृह मन्त्रालयमा तानिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानेर उनको स्थानमा सहसचिव किरण थापालाई पठाइएको छ ।
यसअघि पाल्पाका प्रमुख जिल्ला अधिकारी रहेका योगेन्द्रप्रसाद पाण्डेको दशैं अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको थियो । सहसचिव जगन्नाथ पन्तलाई पाल्पाको सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उपसचिव पदमा कार्यरत वेदनिधि खनाललाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।
हेर्नुहोस् सरुवा सूची