आन्दोलनलाई धोका दिएर गएकाहरुलाई जनतासँग माफी मागे मात्रै प्रवेश दिईने : मातृका यादव
वीरगंज २६ असोज । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृका यादवले प्रतिगमन विरुद्धको आन्दोलनमा पार्टीका केही गद्दार नेताहरुले धोका दिएको बताउनुभयो । उहाँले समग्र आन्दोलनलाई धोका दिएर गएकाहरु फेरी फर्किने मानसिकतामा रहेको हुँदा उनीहरुले जनतासँग माफी मागेर मात्रै पार्टीमा भित्रिने वातावरण बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।
रौतहटको यमुनामाई गाउँपालिकाद्वारा वडा दशैं, तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले ५ दलीय गठबन्धन प्रतिगमन विरुद्धको गठबन्धन भएको हुँदा आउँदो निर्वाचनसम्म सँगै लैजाने बताउनु भएको छ ।
प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले संघियतालाई मजबुत गर्ने जिम्मा ५ दलीय गठबन्धनको हातमा रहेको बताउँदै प्रदेश २ मा प्रहरी समायोजन प्रक्रिया अगाडी बढीसकेको र संघिय सरकारका गृहमन्त्रीसँग सहकार्य भईरहेको बताउनुभयो ।
उहाँले ओलीको प्रतिगमनलाई परास्त गरि ५ दलीय गठबन्धन अगाडी बढीसकेको र अब समृद्धि र विकासको यात्रालाई कसैले रोक्न नसक्ने दावी समेत गर्नुभयो । यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य दिलकुमारी साह, माओवादी केन्द्रका नेता गोपाल ठाकुर, युवराज भट्टराई, शिवम साह लगायतको सहभागीता रहेको थियो ।