वित्तीय साक्षरता सम्बन्धि हाजिरीजवाफ प्रतियोगितामा वीरगन्ज कलेज दोश्रो
वीरगन्ज, २८ जेठ । बैंकर्स क्लब वीरगन्जले वित्तीय साक्षरता बढाउन पहिलो पटक अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । वीरगञ्जमा आयोजित अन्तर कलेज हाजिरी जवाफ प्रतियोगितामा नेशनल एकेडमी प्रथम भएको छ । प्रतियोगितामा वीरगञ्ज कलेज प्राईभेट लिमिटेड द्वितीय र वीरगञ्ज पब्लिक कलेज तृतीय भएका छन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगन्जकी उपनिर्देशक प्रियंका बस्नेतले वित्तीय साक्षरता बढाउने बैंकर्सहरुको नयाँ तरिकाले सहभागी विद्यार्थीको मात्रै नभई बैंकका कर्मचारीहरुको समेत ज्ञान बढाउन सहयोग पुगेको बताउनुभयो । बैंकर्स भएरपनि कतिपय जानकारी नभएका कुराहरु यस्तो प्रतियोगिताले ज्ञान हासिल सहयोग गरेको बताउनुभयो ।
उहाँले वित्तीय साक्षरतामा विद्यार्थीहरुको सहभागिताले आगामी दिनमा बैंकिङ क्षेत्रमा देखिएका अन्योलताहरु हटाउन सहज हुने बताउनुभयो । प्रतियोगितामा ठाकुराम बहुमुखी क्याम्पस, हरिखेतान बहुमुखी क्याम्पस, विपीसी कलेज, ग्लोबल विजनेस कलेज, रामराजा बहुमुखी क्यापस कलैया, सिमरा कलेज सिमरा लागायत बारा र पर्सा जिल्लाका ८ वटा कलेजका विद्यार्थीहरुले भाग लिएका थिए ।
वित्तीय साक्षरता बढाउन विभिन्न क्रियाकलाप गर्दै आएको बैंकहरुले यसपटक नयाँपन ल्याउन खोजेको र यसले वित्तीय साक्षरता अभिवृद्धि गर्ने विश्वासका साथ पहिलोपटक हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका कार्यक्रम संयोजक एभरेष्ट बैंकका मधेश प्रदेश प्रमुख प्रणय प्रधानले जानकारी दिनुभयो ।
बैंकहरुले गर्ने सामाजिक उत्तरदायित्व अन्तर्गत पनि धेरै कार्यक्रम गर्दै आएको र यसपटक बैंकर्स क्लबको तर्फबाट केही नौलो प्रयास गरौं भनेर छलफल हुँदा बैंकसँग सम्बन्धित सामान्य ज्ञानको विषयमा जानकारी दिन हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरौं भन्ने सबैको सल्लाहबाट प्रतियोगिताको आयोजना गरिएको नेपाल इन्भेण्टमेण्ट बैंक मधेस प्रदेशका प्रमुख अमितेश यादवले बताउनुभयो । उहाँले यस्तो प्रतियोगिता सम्भवतः नेपालमै पहिलो भएको पनि दावी गर्नुभयो ।