उपराष्ट्रपति यादव आज बारा आउदै
वीरगन्ज, १२ चैत । उपराष्ट्रपति रामसहाय यादव महागढीमाईको दर्शनका लागि आज बारा आउनु हुने भएको छ । चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएपछि उहाँ पहिलो पटक उपत्यका बाहिर जान लाग्नुभएको हो ।
उहाँले आज बाराको महागढीमाईको दर्शन गर्ने कार्यक्रम तय भएको उहाँको निजी सचिवालयले जनाएको छ । महागढीमाईको दर्शनपछि उहाँलाई त्यहाँको गढीमाई नगरपालिकाले सम्मान गर्ने कार्यक्रम समेत राखेको छ ।
त्यस्तै भोलि चैत १३ गते उहाँले बाराकै करैयामाइको दर्शन गर्ने कार्यक्रम रहेको छ । सो दर्शनपछि करैयामाई गाउँपालिका र सिम्रौनगढ नगरपालिकाले उहाँलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ । त्यही दिन उहाँले कचोर्वास्थित आफ्नो निवासमा जाने कार्यक्रम तय भएको निजी सचिवालयले जनाएको छ ।
आफ्नो निवासमा नागरिक समाजका अगुवा तथा आफन्तलाई भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ । उहाँ १४ गते काठमाडौँ फर्किने कार्यतालिका तय भएको छ ।