प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको मुख्यमन्त्रीमा दावी पेश

प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको मुख्यमन्त्रीमा दावी पेश

वीरगन्ज, १५ कार्तिक । प्रदेश १ मा नेकपा एमालेका भीम आचार्यले मुख्यमन्त्रीबाट राजिनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेलगत्तै उहाँले ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो ।

एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थनमा राईले मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको हो । प्रदेश १ मा सरकार गठनका लागि  ४७ सांसदको हस्ताक्षर आवश्यक पर्छ ।

सोमबार दिउँसो मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नेपालको संविधानको धारा १६८ को (२) बमोजिम सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

गठबन्धनले सरकारको नेतृत्वमा दाबी पेस गरेपछि मंगलबार दिउँसो शपथग्रहण गराइने भएको छ । मंगलबार सानो आकारको मन्त्रीमण्डल बनाउने गठबन्धनको तयारी छ ।