फोनिज मधेस प्रदेशमा चौधरीको नेतृत्वमा सर्वसम्मत समिति चयन 

फोनिज मधेस प्रदेशमा चौधरीको नेतृत्वमा सर्वसम्मत समिति चयन 

बर्दिवास, २२ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश समितिमा दुष्यन्त चौधरीको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ । समितिको नवनिर्वाचित उपाध्यक्षद्वय अनिता चौधरी, प्रियासिंह थारू, महासचिव बृजमान तामाङ, सचिव रेनु चौधरी र कोषाध्यक्ष ज्योती तामाङ रहेका छन् ।

कार्य समितिको सदस्यहरूमा जितेन्द्र प्रसाद चौधरी (सप्तरी), शम्भु चौधरी (सिरहा), नवीन चौधरी (बारा), शम्भु महतो थारु (पर्सा), बुधन चौधरी (बारा), उदय पाख्रिन (सर्लाही), मनोज थापा मगर (महोत्तरी) रहेका छन् । 

विधान अनुसार २१ जना कार्य समितिको एकजना सचिव र बाँकी जिल्लाका बाँकी सदस्यहरु पछि मनोनीत गरिने भएको छ। महोत्तरीको बर्दिबासमा भएको विशेष भेलाले समिति चयन गरेको हो । विशेष भेलाबाट सर्लाहीका शंकर श्रेष्ठ र निवर्तमान उपाध्यक्ष दीपेश श्रेष्ठलाई संगठन विभागको सदस्यमा मनोनित पनि गरेको छ ।

विशेष भेलाको फोनिजका संघीय समिति अध्यक्ष गजुरधन राईले उदघाटन गर्नुभएको थियो । उहाँले आदिवासी जनजाति पत्रकार महासंघ अहिले राज्यको मूलधारको पत्रकारिताम रहेका अन्य पत्रकार संगठन भन्दा पनि नेपाल पत्रकार महासंघको समानान्तर संगठन भएकोले अझै राज्यबाट महासंघलाई राज्यको अनुदानमा विभेद भईरहेको बताउनुभयो ।

उहाँले महासंघमा पनि संस्थापक अध्यक्षको विषयमा विवाद रहेकोले विवादको टुंगो लगाउनुपर्ने बताउनुभयो । उहाँले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ तथ्य र प्रमाणहरु प्रशस्तै भएपनि महासंघले स्वीकार गर्न नखोजेको भन्दै महासंघले सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक सभापति नमानेमाा सम्पूर्ण फोनिजकर्मीहरुले पत्रकार महासंघको सदस्यता बहिष्कार गर्न सक्ने पनि चेतावनी दिनुभयो ।

यसअघिका प्रदेश अध्यक्ष प्रमेश वादेको अध्यक्षतामा भएको भेलामा बरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष कमन देवान, महासचिव मिलन लिम्बू, प्रदेश ईन्चार्ज निरज पिठाकोटे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भेलामा मधेस प्रदेशका जिल्ला अध्यक्ष तथा प्रदेश प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।