बकर इदको अवसरमा उपराष्ट्रपतिको शुभकामना
वीरगन्ज, ५ साउन । उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ ले इस्लाम धर्मावलम्वीहरुको महान पर्व इद–उल–अजाह (बकर–इद)को शुभ अवसरमा शुभकामना दिनुभएको छ । उहाँले नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्वीहरु र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै यस पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने बताउनु भएको छ ।
उपराष्ट्रतिको कार्याद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक हो । विभिन्न समुदायका चाडवाड, रितिरिवाज, धर्म, संस्कार र संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको छ । भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मवलम्वीहरुको महान् पर्व इद–उल–अजाहले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ् गर्ने मैले विश्वास लिएको छु ।’
उहाँले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहर अझै पनि नियन्त्रणमा आइनसकेको र अझै फैलन सक्ने जोखिम रहेकोले नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गरेर इद मनाउन आग्रह समेत गनुभएको छ ।