तथ्यांक कार्यालयको जनगणनामा विभिन्न संघ संस्थाहरुको असन्तुष्टि 

तथ्यांक कार्यालयको जनगणनामा विभिन्न संघ संस्थाहरुको असन्तुष्टि 

वीरगन्ज, २४ जेठ । नेकपा माओवादी केन्द्र निकट भातृ संगठन मगर राष्ट्रिय मुक्तिमोर्चा नेपालले तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा आपत्ति जनाएको छ । तथ्यांक कार्यालयले जेठ १९ गते प्रकाशित गरेको आन्तिम तथ्यांकमा मगरजातिमा पर्ने पुन मगरलाई छुट्टै जातिमा सूचीकृत गरेको भन्दै मगर राष्ट्रि मुक्ति मोर्चा नेपालले विरोध जनाएको हो ।

मोर्चाका कार्यवाहक अध्यक्ष कमल बहादुर पिठाकोटे मगरले एक विज्ञप्ति जारी गर्दै नेपालको कूल जनसंख्याको तेश्रो स्थानमा रहेको मगर जाति र आदिवासी जनजाति समुदायको पहिलो जनसंख्या रहेको मगर जातिभित्र विभिन्न मुख्य थर र उपथर सहित विविध संस्कृति रहेको जनाउदै पुन मगरलाई छुट्टै जातिमा सूचीकृत गरेकोमा ध्यानकर्षण भएको जनाएको हो ।

गौरवपूर्ण मगर जातिको ऐतिहासिक विरासतमाथि राज्यले षड्यन्त्र गरेको बुझेको जनाएको छ । पुन भनेको मगर जातिको एक मुख्य थर भएको र पुन छुट्टै जाति नभई मगर नै भएकोले राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको उक्त नतिजालाई यथाशीघ्र सुधार गरी प्रकाशित गर्न विज्ञप्ति मार्फत माग पनि गरेको छ । मगर जातिको एकजतालाई थप मजबुद बनाईराख्न सम्पूर्ण मगर समुदायमा अपिल पनि गरेको छ ।

यस्तै अन्य आदिवासी जनजाति संघ संस्थाहरुले पनि तथ्यांक कार्यालयको नतिजा विश्वसनीय नभएको बताएको छ । उनीहरुले तथ्यमा आधारित रहेर तथ्यांक आउनुपर्नेमा त्यस्तो नआएकोले विश्वसनीय नभएको बताएका हुन् । उनीहरुलाई आदिवासी जनजाति समुदायको सवालमा तथ्यांकमा त्रुटी भएको भन्दै विरोध जनाएका छन् ।