निर्वाचन अनुगमन प्रभावकारी हुनुपर्नेमा सरोकारवालाहरुको जोड
वीरगन्ज, २४ कार्तिक । मंसिर ४ गते हुने निर्वाचन स्वच्छ, निष्पक्ष र भय रहित वातवरणमा सम्पन्न गर्नका लागि अनुगमन प्रभावकारी बनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले वीरगन्जमा आयोजना गरेको अन्तकृयात्मक छलफलमा सहभागीहरुले यस्तो बताएका हुन् ।
विगतका निर्वाचनहरु भन्दा यसपटको निर्वाचनमा पनि खासै फरकपन नदेखिएको बताउदै निर्वाचन गराउने निकाय निर्वाचन आयोगका पदाधिकारीहरुको अभिव्यक्ति र कार्यशैलीले पनि निर्वाचन स्वच्छ हुनेमा आशंका पैदा भएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य एवं इन्सेका पूर्व अध्यक्ष सुशिल प्याकुरेलले निर्वाचन आयोगका आयुक्तहरुले दिने अभिव्यक्तिले पनि निर्वाचनको वातावरणमा नकारात्मक प्रभावहरु पार्न सक्नेतर्फ सचेत गराउनुभयो ।
आयुक्तहरुले विगतका निर्वाचनमा एक ट्रक मतपत्र नै गायब भएको भन्ने अभिव्यक्ति सार्वजनिक कार्यक्रमहरुमा दिनु ठिक नभएको उहाँको भनाई थियो । उहाँले एउटा निर्वाचन सम्पन्न भएपछि फेरी अर्को निर्वाचनको समयमा मात्रै निर्वाचनको विषयमा बहस, छलफल हुने गरेको भन्दै उहाँले निर्वाचनको विषयमा निरन्तर छलफल र बहस आवश्यक रहेको बताउनुभयो ।
बरिष्ठ अधिवक्ता रामेश्वर सेढाँईले निर्वाचन आयोगको कडाईले विगतका निर्वाचनको भन्दा यसपटकको निर्वाचनमा प्रचार प्रसारका सामग्रीहरुमा केही कम भएपनि दलहरुले गरेका गठबन्धन र दलीय सिण्डिकेटले नागरिकले स्वच्छ जनप्रतिनिधि छान्न पाउने अवस्था भने नरहेको बताउनुभयो ।
उहाँले दलहरुकै कारणले स्वतन्त्र उम्मेदवारहरु हावी भएको र त्यस्ता व्यक्तिहरुले निर्वाचन जितेपनि नागरिकको लागि गर्ने काममा जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नेमा आशंका व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र चौहानले निर्वाचन आयोग आफैं एकपछि अर्को विवादमा मुछिएको र संवैधानिक निकायहरुमाथि नै नैतिकताको प्रश्नचिन्ह खडा भएको बताउनुभयो ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का केन्द्रीय कार्यालयका कृष्ण गौतम, प्रेस सेण्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटा, प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं इन्सेक पर्साका प्रतिनिधि केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बञ्जारा, पर्सा उपाध्यक्ष सुष्मा शर्मा, सदस्य कविता खड्का लगायतले पर्सा जिल्लामा भईरहेको निर्वाचनका गतिविधिहरुको बारेमा आ–आफ्ना विचार राखेका थिए ।