दुईमहिनादेखि पोलियो खोपको अभाव हुँदा बालबालिकाहरु पोलियो थोपाबाट बञ्चित
ट्रिब्यून न्युज
वीरगन्ज, २३ चैत । पर्सामा दुईमहिनादेखि पोलियो खोपको अभाव हुँदा बालबालिकाहरुले पोलियो थोपा खान पाएका छैनन् । पर्साका सबै स्वास्थ्य संस्थाहरुमा अहिले पोलियो थोपा सकिएको स्वास्थ्य संस्थाका कर्मचारीहरुले बताएका छन् ।
केन्द्रमा नै पोलियो थोपा नभएकोले अहिले देशभर नै पोलियो थोपाको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर प्रसाद चौरसियाले बताउनुभयो । पोलियो थोपाको लागि माथिल्लो निकायमा पटक पटक लिखित र मौखिक रुपमा जानकारी गराईएपनि केन्द्रमा नै खोपको अभाव भएकोले अहिले पोलियो खोप नआएको चौरसियाले बताउनुभयो ।
तीन महिना पोलियो खोप नहुँदा बालबालिकाहरु पोलियो खोपबाट बञ्चित भएका छन् । पोलियो थोपा खुवाउन स्वास्थ्य संस्थामा लिएर जाने बालबालिकाहरुलाई प्रत्येक हप्ता पोलियो थोपा नखुवाई फर्किनु परेको अभिभावकहरुले गुनासो गरेका छन् । पोलियो थोपा ल्याउन पहल भईरहेको तर, केन्द्रमा नै अभाव भएकोले समस्या भएको स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले बताउनुभयो उहाँले एकहप्ता भित्रमा पोख आईपुग्ने पनि बताउनुभयो ।
उहाँका अनुसार पर्सा जिल्लामा बार्षिक १३ हजार बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य रहेको छ । महिनामा १२ सय बालबालिकालाई पोलियो थोपा खुवाउने गरिन्छ ।