वीउवा संघका अध्यक्ष डा.गुप्ता सहित वीरगन्जका ४ चारजना उद्योगी व्यावसायी विभूषित हुदै
वीरगन्ज, ३ असोज । संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट विभूषित गरिने विभूषण वीरगन्जका चारजना उद्योगी व्यावसायी पनि विभूषित हुने भएका छन् । असोज ३ गते संविधान दिवसको अवसरमा घोषणा गरिने विभूषणका लागि वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुवोध गुप्ता, पूर्व अध्यक्ष अशोक वैद, उद्योगी मुरलीधर रुंगटा र व्यावसायी दिपेन्द्र कलवारपनि विभूषित हुने भएका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.गुप्तालाई निजीक्षेत्रको तर्फबाट सामाजिक सेवामा गरेको योगदानको उच्च मूल्यांकन गर्दै विभूषित गर्न लागिएको हो । उहाँको कार्यकालमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस संक्रमण महामारीको समयमा नारायणी अस्पतालमा नवजात शिशुहरुको लागि सघन उपचार कक्ष (एनआईसीयु) स्थापना,
अस्पतालमै आवश्यक अक्सिजन ग्यास आपूर्तिको लागि पाईपलाईन विछ्याउन र पोखरिया अस्पतालको अपरेशन थिएटर स्थापना लगायत अन्य सामाजिक सेवामा समेत निरन्तर सहयोग र योगदान गर्दै आएको छ । डा.गुप्ता वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष कार्यकाल रहँदै विभूषित हुने व्यक्तिमा पनि पर्नुभएको छ ।
त्यस्तै वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैदले पनि उद्योग व्यावसाय तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप विभूषित गर्न लागिएको हो । उहाँ नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष तथा वीरगन्ज महानगरपालिकाका सदभावनादूत पनि हुनुहुन्छ ।
अर्का विभूषित व्यक्तित्व मूरलीधर रुंगटा वीरगन्जमा व्यापार र औद्योगिक विकासमा लामो समयदेखि निरन्तर लाग्नुभएका व्यक्तित्व हुनुहुन्छ । उहाँलाई पनि उद्योग व्यावसाय र सामाजिक सेवामा पुर्याएको योगदान स्वरुप विभूषित गर्न लागिएको हो । विभूषित सबैलाई बैशाख १ गते नयाँ बर्षको दिन राष्ट्रपतिबाट विभूषित गरिने छ ।