चाडपर्व नजिकिएसँगै ग्रामीणक्षेत्रको नाकामा तस्करी बढ्यो
कृष्णमोहन साह
सेंढवा, ४ असोज । पर्साको ग्रामीण क्षेत्रको नाकाबाट व्यापक मात्रामा तस्करी भैरहदा पनि जिल्ला प्रमुख बेखबर जस्तै बनेका छन् । सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएका नेपाल प्रहरी र सशस्त्रकै संरक्षणमा पर्साको ग्रामीण क्षेत्रका विभिन्न नाकाहरूबाट तस्करी बढेको हो ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले जिल्लाको सदरमुकाममा कडाई गरेजस्तो देखिएपनि ग्रामीण क्षेत्रमा तस्करीमा कुनै कमी नआएको स्थानीयले बताएका छन् । प्रहरीले सानातिना सामानहरु पक्राउ गरेर केही काम देखाउन खोजेपनि संस्थागत तस्करी भने रोकिएको छैन । पर्सा जिल्लामा खुला सीमाना भएकाले तस्करहरुलाई अबैधरुपमा सामान नेपाल भित्र्याउन सहज भएको छ ।
सशस्त्रले दैनिक सामान बरामद गरेको देखाएर ठूलो परिमाणमा सेटिंगामार्फत रातीको समयमा सामानहरु नेपाल भित्रने गरेको छ । पर्साको वीरगन्ज मूल भन्सार नाकाबाट समेत तस्करहरुले सहज रुपमा सामान पास गराउने गरेका छन् । तस्करहरुले मुख्य नाकाको प्रयोग गरेर सामान भित्र्याउने गरेकोमा पछिल्लो समयमा मूल नाकाभन्दा ग्रामीण नाकाबाट भारतीय अबैध सामान तस्करी हुने गरेको छ ।
पर्साको भिस्वा, जानकीटोला, दसौता पाण्डेपुर महादेवपट्टी मालीबस्ती बिजयबस्ती ठोरी लगायतका नाकाहरुबाट सामान अबैधरुपमा भित्राउने गरिएको पाइएको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरी को मिलेमतोमा भारतीय अबैध सामानहरू पर्साका ग्रामिण क्षेत्र सम्म ल्याएर सो क्षेत्रबाट करिब २०/२५ वटा मोटरसाईकलको प्रयगो गरेर सामानहरु ग्रामीण क्षेत्रको विभिन्न गाउँहरुमा राख्ने गरेको र सो रुटमा चल्ने बस टाटा सुमोमा नेपालका, वीरगंज, चितवन, बाराका जितपुर,सिमरा काठमाडौं, लगायतका ठाउँहरुमा पुर्याउने गरिएको छ ।
नेपाल भारत सीमा नाकामा नेपाल प्रहरीको चौकीहरु भएपनि रातभर मोटरसाईल ओहोरदोहोर गर्दा समेत कुनै चेकजाँच गरेको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्चार्जहरुको मिलेमतोमा समेत तस्करी मौलाईरहेको छ । एक स्थानीय बासिन्दाका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि ‘नयाँ जोगीले बढी खरानी घसेझै’ नयाँ नयाँमा बढी हल्ला गरेको जस्तो देखिएको छ ।
केही स्थानबाट तस्करी गरेको सामान समातेजस्तो गर्ने तर निश्चित नाकाबाट तस्करी संस्थागत गर्ने काम भएको स्थानीयको आरोप छ । तस्करहरुले पर्साको ग्रामीण नाकाको ठोरी गाउँपालिका वार्ड नंबर ४ को मालीबस्ती र महादेवपट्टी र दसौता नाका बढी उपयोग गरेका छन् ।
गाउँका मानिसहरु सवै सुतिसकेपछि मध्यरातमा मालीबस्तीको नाका, महादेवपट्टी र दसौता नाका प्रयोग गरेर बलुवा मालिबस्ती र दसौता गाउँमा झारेर सामान तस्करी भएको स्थानीयको भनाई छ ।
उता महादेवपट्टी जानकीटोलको दसावता र पाण्डेपुरको नाकाबाट दिनहुँ जसो साँझ ६ बजेदेखि लिएर बिहान १० बजेसम्म भारतीय सामान चिनी सखर बोइलर कुखुरा सेतो अन्डा भारतीय मल हार्डवेयर सामान, चिसो पेय पदार्थ, बेकरी आईटम,
राङ्गा भैसी लगाएतका बस्तुहरु व्यापक मात्रामा तस्करी हुँदा समेत प्रहरीले नियन्त्रणमा कुनै चासो नदेखाउनुले नेपाल प्रहरी र सशस्त्र प्रहरको मिलोमतो हुनसक्ने स्थानीयले आशंका छन् ।