जन्नतलाई बदला लिदै रहबर प्रदेशसभा सदस्यमा विजयी 

जन्नतलाई बदला लिदै रहबर  प्रदेशसभा सदस्यमा विजयी 

वीरगन्ज, ७ मंसिर । नेकपा माओवादी केन्द्रका उमेदवार रहबर अंसारी पर्साको निर्वाचन क्षेत्र नम्बर १ को (१) प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले ७ हजार ८१७ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँलाई पाँचदलीय गठबन्धनको सहयोग र समर्थन रहेको थियो । अन्सारीका निकटम प्रतिद्वन्द्वदी स्वतन्त्र उमेदवार जन्नत अंसारीलाई २२९८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको छ । जन्नतले ५ हजार २८६ मत र अर्का स्वतन्त्र उमेदवार सुधिर पटेलले ४ हजार ४५ मत प्राप्त गरेका छन् ।

एमाले जसपा गठबन्धनबाट उमेदवार बनेका नेकपा एमालेका विचारी यादवले ५ हजार ५१९ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा कुल कुल २८ हजार २७३ मत खसेको थियो । प्रदेशसभा सदस्य विजयी रहवर अंसारीले २०७४ को स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा नेकपा माओवादी पार्टीको तर्फबाट प्रमुखमा प्रतिस्पर्धा गरेका थिए ।

२०७४ को प्रदेशसभा सदस्य पदमा समेत पर्सा निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रतिस्पर्धा गरेका थिए । २०७४ को प्रदेशसभा निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन संघिय समाजवादी फोरमबाट जन्नत अंसारीसँगै पराजित हुनुभएका रहबरले यसपटक भने बदला लिएको छ । २०७४ को निर्वाचनमा जन्नतले ८ हजार ५९३ मत ल्याएर विजयी हुनुभएको थियो ।

नेपाली कांग्रेसका रामनारायण कुर्मीले ७ हजार १७१ मत प्राप्तगरी दोश्रो र नेकपा माओवादी केन्द्रका रहवर अंसारीले ६ हजार ७९४ मत प्राप्तगरी तेश्रो स्थानमा रहनुभएको थियो । यसपटक जसपा एमाले गठबन्धनका कारण जन्नत अंसारीले टिकट नपाएपछि स्वतन्त्र उमेदवारको रुपमा मैदानमा हुनुहुन्थ्यो । जसपाको समेत समर्थनमा उम्मेदवार बन्नुभएका जन्नतको यसपटक प्रदेशसभा सदस्यको यात्रामा विराम लागेको छ ।