मकवानपुर १ को प्रदेशसभामा माओवादी छिन्तु विजयी
हेटौंडा/नेकपा माओवादी केन्द्रका प्रेम बहादुर पुलामी (छिन्तु) फराकिलो मत अन्तर सहित प्रदेशसभा मकवानपुर १(१) बाट निर्वाचित हुनुभएको छ। छिन्तु १९ हजार सातसय १९ मतका साथ विजयी हुनुभएको हो । बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएका पुलामीसँग नेकपा एमालेका कमल विष्ट चार हजार दुईसय ८७ मत अन्तरले पारजित हुनुभयो ।
विष्टले १५ हजार चारस ३३ मत प्राप्त गरे । साथै राप्रपाका उम्मेदवार सागर थापाले सात हजार सातसय दुई मत प्राप्त गर्नुभयो । पुलामी २०७४ मा यसै क्षेत्रबाट जित्नुभएको थियो । नेकपा एमालेसँगको गठबन्धबाट विजयी भएका उहाँले नेपाली कांग्रेस धर्मराज लामिछानेलाई पराजित गर्नुभएको थियो । उहाँ २०६४ मा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य निर्वाचत हुनुभएको थियो ।
बिगत ३० वर्षदेखि निरन्तर कम्युनिष्ट राजनीतिमा रहनुभएका पुलामी जनयुद्धको समयमा दश वर्ष भूमिगत राजनीति गर्नुभएको थियो । उहाँ जनयुद्धकै समयमा २०५५ मा एक महिना जेल समेत पर्नुभयो । वाइसिएलको सदस्य हुँदै राजनीतिमा प्रवेश गर्नुभएका उहाँले जनयुद्धको समयमा बिभिन्न युद्ध मोर्चाहरु सम्हाल्नुभएको थियो ।
२०५८ मा उहाँ मकवानपुरको पूर्वी इलाकाको जनसरकार प्रमुख बन्नुभयो । सोही समयमा जिल्ला पार्टी सचिवालय सदस्य हुँदै २०५९ मा जनमुक्ति सेनाको कमिसार र २०६० सालमा रसुवा र नुवाकोटको पार्टी सेक्रेटरीको भूमिका पनि पुलामीले सम्हाल्नुभयो । २०६१ सालमा जनमुक्ति सेनाको बटालियन कमिसार हुँदै उहाँ नेवा ताम्सालिङ दक्षिण ब्युरो सचिव समेत बन्नुभयो ।
तत्कालिन माओवादी पार्टी शान्ति सम्झौतासँगै खुल्ला राजनीतिमा आएपछि नेकपा माओवादी केन्द्रमा आएको टुटफुट र बिभाजनको समयमा पनि उहाँ अबिचलित रही मकवानपुरमा नेकपा माओवादीलाई एकताबद्ध बनाउन मूल नेतृत्व सम्हालेर बस्नुभयो । २०६८ सालदेखि नेकपा माओवादी केन्द्र मकवानपुरको अध्यक्षको भूमिका निर्वाह गर्दै आउनु भएका उहाँ हाल नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिका उपाध्यक्ष हुनुहुन्छ । पुलामी २०२९ पुस ८ गते बागमती गाउँपालिका ३ फापरबारीमा बुवा जित बहादुर पुलामी र आमा रत्नकुमारी पुलामीको कोखबाट जन्मिनु भएको हो ।