प्रदेश २ को राजधानी जनकपुर र नाम मधेस प्रदेश बहुमतले पारित 

प्रदेश २ को राजधानी जनकपुर र नाम मधेस प्रदेश बहुमतले पारित 

वीरगन्ज, ३ माघ । प्रदेश २ को नाम मधेश  र स्थायी राजधानी जनकपुर बहुमतले पारित भएको छ ।  सोमबार बसेको प्रदेश सभा बैठकले प्रदेश सभाको नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको हो ।

सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी ९जसपा०सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । 
१ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो । तर अरु दलका १६ सांसदले पनि प्रदेशको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

मधेश नाम स्वीकृत भएपछि अब अन्य नाम स्वतः निष्क्रिय भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए । कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए । यसअघि ३ चैत २०७६ मा मतदान भए पनि प्रदेशको नामकरण हुन सकेको थिएन ।
सोमबार नै प्रदेश सभाले स्थायी राजधानी जनकपुर टुंगो लगाएको छ । पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मत दिएका थिए ।

प्रदेश २ को राजधानी तथा नामकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव गरेको थियो । पछि त्यसलाई परिमार्जन गरी तीन वटा बनाएको थियो, जसमध्ये जनकपुरमा दुई तिहाइ बहुमत मत प्रकट भएको हो ।

स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सिमाना कायम हुनेछ ।
यसैबीच जनकपुरलाई स्थायी राजधानी बनाएको भन्दै वीरगन्जमा विरोध प्रदर्शन गरिएको छ । वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउनुपर्ने माग गर्ने पक्षहरुले जनकपुरलाई स्थायी राजधानी बनाउने दुईतिहाई बहुमतले पारित गरेपछि विरोध जनाएका हुन् । आज साँझ मुख्यमन्त्रीको विरोधमा वीरगन्ज युवाहरुले जुलुश प्रदर्शन गरेका छन् । उनीहरुले मुख्यमन्त्री मुर्दावाद लगायतका नारा लगाएर विरोध जनाएका हुन् ।