सरावगीले पैसा बाँडेको ५ दलीय गठबन्धनको आरोप, पुष्टि हुने कुनै आधार फेला परेन प्रहरी
वीरगन्ज । वीरगञ्ज महानगरमा नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोप लगाएका छन् । जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहलाई मेयरको उम्मेदवार बनाएको पाँच दलीय गठबन्धनले मंगलबार विज्ञप्ति निकालेर एमालेका उम्मेदवार सरावगीले मतदाता प्रभावित पार्न पैसाको चलखेल गरेको आरोप लगाएको हो ।
तर, सोमबार राति पैसा बाँड्न गएको भन्दै जसपा कार्यकर्ताले सरावगीलाई स्थानीय विनोद चौरसियाको घरमा घेरा हालेर सांघातिक आक्रमणको प्रयास गरेका थिए । नेकपा एमालेका मेयरका उम्मेदवार विजय कुमार सरावगीले सुरक्षा अधिकारीहरुलाई घटनाको बारेमा जानकारी गराएपछि ढिलो गरी पुगेको प्रहरीले भीड साम्य पारेर राति सरावगीलाई सुरक्षित घर पु-याएका थिए ।
पाँचदलीय गठबन्धनले भने जस्तो पैसा बाँडेको कुनै प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरी र केही सञ्चारकर्मीहरुसमेत घरमा पसेर खानतलासी लिँदा आरोप लगाएजस्तो रकम फेला नपरेको प्रहरीले बताएको छ । सरावगीको शरीर र उनी बसेको ठाउँमा प्रहरीले खोजतलाश गर्दा आरोप लगाएजस्तो पैसा फेला नपरेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बस्नेतले जानकारी दिनुभयो ।
उहाँ बसेको ठाउँमा र उहाँको शरीरबाट पैसा बरामद नभएपछि हामीले उहाँलाई सकुशल घर पुर्याएका हौं, उपरिक्षक बस्नेतले भन्नुभयो, ‘पैसा बाड्न हिडेको भन्ने कुरालाई पुष्टि गर्ने आधार केही फेला परेन ।’
जिल्लाको प्रहरी प्रमुखले नै पैसा बाँडेको कुनै आधार फेला नपरेको बताइसक्दा पनि ५ दलीय गठबन्धनले विज्ञप्तिमार्फत आरोप लगाउनु निर्वाचनको निष्पक्षतामाथि प्रभाव पार्ने खेल भएको एमालेले बताएको छ । मौन अवधि शुरु हुनु अघि दुवै पक्षबाट एक अर्काप्रति आरोप प्रत्यारोप लगाउने प्रतिस्पर्धा नै चलेको छ ।