एमालेले चयन गरेको प्रदेश २ कमिटिका २५ जनाले गरे पद अस्वीकार

एमालेले चयन गरेको प्रदेश २ कमिटिका २५ जनाले गरे पद अस्वीकार

वीरगन्ज, १७ असोज । नेकपा एमालेको विधान महाधिवेशन सकिएकै दिन नेकपा एमाले प्रदेश कमिटिमा चयन गरिएका २५ जनाले सदस्य पद अस्वीकार गरेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी पार्टी अलग भएपछि प्रभु साह नेकपा एमालेमा लागेपछि उहाँसगै एमालेमा लागेका नेताहरुले नेकपा एमालेले पूरानै सोच र शैलीमा हिडेर आफ्नो सहमति विना नै प्रदेश कमिटि चयन गरेको भन्दै पद अस्वीकार गरेको जनाएका छन् ।

पार्टी एकतापछि फेरी अलग अलग भएपनि पूरानै रुपमा जस्ताको तस्तै स्वीकार्नु भनेको राजनीतिक बेईमानी र पश्चगमन तथा अवसवाद ठहर्ने भन्दै एकताकै भावको निरन्तरता हुनुपर्ने माग गरेका छन् ।

पर्साका योगेन्द्र साह लगायत प्रदेश नम्बर २ का २५ जनाले एमालेको प्रदेश कमिटि सदस्यको पद अस्वीकार गरेको हो । उनीहरु सबै प्रभु साह निकटका हुन् ।

प्रभु साहले एमाले अध्यक्ष केपी ओली समक्ष राखेको ८ बुँदे मागको सम्बोधन नभएपछि गोदावरीमा आयोजना गरिएको विधान महाधिवेशनमा प्रभु साह जानु भएको छैन ।

गोदावरीमा आज (आईतबार) विधान मधाधिवेशनको सकिएकै दिन प्रदेश २ का २५ जनाले पद अस्वीकार गरेको विज्ञप्ति सार्वजनिक भएको हो ।