निर्वाचनको संघारमा एमाले पर्सामा भूईंचालो, ५४२ जनाद्वारा एमाले परित्याग
दुईजना संविधानसभा सदस्य र केन्द्रीय सल्लाहाकार सदस्य सहित ५४२ जना एमाले परित्याग
वीरगन्ज, १२ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले पर्सामा भूँचालो गएको छ । नेकपा एमालेका केन्द्रीय सल्लाहाकार परिषदका सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटि सदस्य सहित ५४२ जना नेता कार्यकर्ताहरुले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् ।
पछिल्लो पटक जनता समाजवादी पार्टी (जसपा)सँग अपवित्र गठबन्धन गरेको भन्दै नेकपा एमाले पर्साका ५४२ जना एमाले नेता कार्यकर्ताहरुले पार्टीबाट राजिनामा दिएको घोषणा गरेका हुन् । एमालेबाट असन्तुष्ट नेता कार्यकर्ताहरुको आज बसेको बैठकले एमालेमा नरहने घोषणा गर्दै राजिनामा दिएका हुन् ।
नेकपा एमालेका केन्द्रीय सल्लाहाकार परिषदका सदस्य मोहम्मद कदम रसुल, प्रदेश कमिटि सदस्य एवं स्वतन्त्र उम्मेदवार जिताउ अभियान पर्साका संयोजक बाबुराम कौशिक, प्रदेश कमिटि सदस्य एवं संविधानसभा सदस्य इस्लाम हवारी, फूलझरीदेवी, प्रदेश कमिटि सदस्य योगेन्द्र साह कानु, जिल्ला कमिटि सदस्य एवं पर्सा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार संतोष श्रेष्ठ, शम्भु पाल, विजय गुप्ता, संजीव गुप्ता, विश्वराज पटेल, विकास पटेल लगायत ५४२ जनाले नेकपा एमालेबाट राजिनामा दिएका छन् ।
देशको विद्यमान परिस्थितिलाई छलफल र अध्ययन गर्दा नेपाली जनाको गौरवपूर्ण त्याग, संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र राजनीतिक नेताहरुका गलत गतिविधिर अपवित्र जसपासँगको गठबन्धनले गर्दा दूषित भएको र सिंगो देश नै अस्थिरताको भुमरीमा पस्दै गएकोले एमाले पार्टी परित्याग गरेको एमाले प्रदेश कमिटि सदस्य एवं स्वतन्त्र उम्मेदवार जिताऔं अभियान पर्साका संयोजक बाबुराम कौशिकले जानकारी दिनुभयो ।
नेकपा एमाले जनहित तथा जनउत्तरदायी नभई जनभावना र पार्टी मूल मर्म विपरित गएको र जसपासँगको अपवित्र गठबन्धनका कारण बाध्य भएर एमाले छोड्नु परेको नेताहरुले बताएका छन् ।
(नामावली सहित)