महानगर र उपमहानगरमा केन्द्रबाट गठबन्धन : नेता पुन 

महानगर र उपमहानगरमा केन्द्रबाट गठबन्धन : नेता पुन 

वीरगन्ज । नेकपा माओवादी केन्द्रका नेत बर्षमान पुनले स्थानीय तहको निर्वाचनमा देशैभरका महानगर र उपमहानगरमा केन्द्रीय तहबाट नै चुनावी गठबन्धन गरेर जाने बताउनुभएको छ ।

नेकपा माओेवादी केन्द्र बाराको प्रशिक्षण कार्यक्रमका लागि आउनुभएका नेता पुनले पालिकाहरूमा भने स्थानीय तहका कमिटीहरूकै निर्णय अनुसार गठबन्धन हुने बताउनुभयो ।

प्रेस सेण्टर नेपाल बाराले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री पुनले सशस्त्र जनयुद्ध देखिका विभिन्न आन्दोलनमा सहिद, घाइते, अपांगहरूको व्यावस्थापन राज्यको दायित्व भएकोले माओवादी केन्द्रले मात्रै सबैको जिम्मा लिनुपर्छ भन्ने धारणा गलत रहेको बताउनुभयो ।

माओवादी केन्द्रकै कारण सबै कुरा विग्रियो भन्ने खालका सन्देश प्रवाह गर्न एकथरी लागिपरेको पनि उहाँले बताउनुभयो । माओवादीकै कारण गणतन्त्र, संघीयता, धर्म निरपेक्षता लगायतका उपलब्धि प्राप्त भएको जिकिर गर्दै उहाले ती उपलब्धीको रक्षा अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले अबको निर्वाचन पनि संघीयता पक्ष र पक्षबीचको लडाइँ हुने बताउनु भयो । प्रेस सेण्टर बाराका अध्यक्ष  रञ्जन यादवको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य गोपाल ठाकुर, बारा अध्यक्ष अनिल श्रेष्ठ, संविधान सभा सदस्य जयराम दाहाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रेस सेण्टर बाराका उपाध्यक्ष प्रदीप गौतमले गर्नुभएको थियो ।