माओवादी केन्द्रको कालिकामाई गाउँपालिकामा वडा कमिटि गठन
वीरगन्ज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ पर्शुरामपुरमा नेकपा माओवादी केन्द्रको वडा कमिटि गठन गरिएको छ । बिहीबार सम्पन्न वडा भेलाले सुनिल चौहानको अध्यक्षतामा नेकपा माओवादी केन्द्र वडा नम्बर ४ को कमिटि गठन भएको हो ।
विकास कुमार कुश्वाहाको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कालिकामाई गाउँपालिकाका अध्यक्ष जय कुमार पासवानले उदघाटन गर्नुभएको थियो । उहाँले नेपालका दलित, उत्पीडित वर्गको हक अधिकारका लड्ने एउटै पार्टी नेकपा माओवादी केन्द्र रहेको बताउनुभयो ।
उहाँले मधेसमा अझैपनि नवसामन्तवाद कायम रहेकोले यसको प्रतिरोधका लागि नेकपा माओवादी केन्द्र पार्टी नै आवश्यक रहेको बताउनुभयो । नेकपा माओवादी केन्द्रकै कारणले अहिले देशको हरेक कुनामा राजनीतिक चेतनाको स्तरमा वृद्धि भएकोले नै परिवर्तन सम्भव भएको बताउनुभयो ।
नेकपा माओवादीले सशस्त्र जनयुद्ध नगरेको भए अझैपनि नेपालमा समान्तीहरुको हाली मुहाली रहनेथियो भन्दै पासवानले माओवादीले जन जनमा ल्याएको राजनीतिक चेतनाकै कारणले अहिले दलितहरुको राज्यमा प्रतिनिधित्व र सहभागिता सुनिश्चत भएको बताउनुभयो ।
भेलामा नेकपा माओवादी केन्द्रका युवा नेता दिनेश यादव, कन्हैया साह र नेहाल खान लगायतको उपस्थिति रहेको नेकपा माओवादी केन्द्र कालिकमाई गाउँपालिकाका सचिव इश्क कुमार पासवानले जानकारी दिनुभयो ।