वीरगन्जमा ओली नरम, भोट बटुल्ने भाषण

वीरगन्जमा ओली नरम, भोट बटुल्ने भाषण

वीरगन्ज, २२ चैत्र ।  विपक्षीलाई कटाक्ष गरेर आक्रामक भाषण गर्दै कार्यकर्तालाई उत्तेजित बनाउने नेकपा एमालेका अध्यक्ष केपी ओली मंगलबार वीरगन्जमा आयोजना भएको आमसभामा भने नरम रुपमा प्रस्तुत हुनुभयो । भाषणका क्रममा उहाँले परमादेशबाट बनेको अवैधानिक र अपवित्र गठबन्धनको सरकार भन्ने बाहेक विपक्षीको विषयमा बढी नबोली जनताको भोट बटुल्ने कुराहरु मात्रै गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘बुथ बुथमा गएर जनताले भोट हालेर बनाएको सरकारलाई अध्याँरो कुनामा लगेर कानूनको नौ सिंग मध्य पनि कोखाको सिंगले हानेर अदालतबाट प्रधानमन्त्री छान्ने काम गरेर कृत्रिम ढंगले सरकार गठन गरेको हो । त्यसैले यो सरकार अवैधानिक हो ।’ वीरगन्जसँगको आफ्नो राजनैतिक सम्बन्धको विषयबाट बोल्न शुरु गर्नुभएका ओलीले आफू वीरगन्जको जेलमा बसेको बतउनुभयो । 

हरेक मञ्चमा विपक्षीलाई गाली गर्न समय खर्चिने ओलीले मंगलबार वीरगन्जमा आयोजना गरेको सभामा भने जनतालाई आकर्षित गर्ने भाषण गरेर सहानूभुति बटुल्ने प्रयास गर्नुभयो । उहाँले भन्नुभयो,  “एमालेले केटाकेटीलाई हेर्छ । बुढाबुढीलाई हेर्छ । एकलाख सम्मको स्वास्थ्य वीमाको व्यावस्था गरेको छ । सबै भूगोलमा बस्ने, सबै भाषाभाषी, पेशा व्यावसायीका लागि साझा विकासका लागि राष्ट्रिय अभियानको संकल्प लिएर वीरगन्ज आएको छु ।” 

६० बर्षदेखि आफूपनि मधेसमै बसेको बताउदै मधेसको जीवन आफूले राम्रो बुझेको बतउनुभयो । उहाँले पहाडमा जस्तो ब्लाष्टिङ गरेर सडक बनाउनु नपर्ने भएकोले सबैभन्दा सजिलो विकास गर्न तराईमा गर्न सकिने बताउनुभयो । मधेस विरोधी केपी ओली भन्नेहरुलाई सडक, अस्पताल, सिँचाई तथा विद्यालयहरु बनाएर जवाफ दिएको पनि ओलीले दावी गर्नुभयो । 

उनले भने, “सुनकोशी बन्द गरी पहाड छेडेर तराईका खेतमा सिँचाई गर्ने केपी ओली अनि अनि मधेस विरोधी ?” खानेपानी, इन्टरनेट, डिजिटल नेपाल बनाउने, आधुनिक सञ्चार प्रविधियुक्त नेपाल बनाउने नेकपा एमालेको उद्देश्य रहेको बताउनुभयो । आमसभामा सहभागीहरुलाई पार्टीको बारेमा जानकारी दिदै भन्नुभयो, “प्राकृतिक हिसाबले नेपालमा हिमालहरु र प्राकृतिक मरोरम दृश्यहरु, धार्मिक, पर्यटकीय स्थलहरु पनि प्रशस्त छन् । नेपाल अत्यन्त आकर्षक विश्व गन्तव्य हुन सक्दछ । हामी पर्यटनको विकास गर्न खोज्दछौं । पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन गर्छौ ।” 

वीरगन्जको विकासको बारेमा बोल्दै उहाँले रिंगरोड सहितको वीरगन्ज, प्राविधिक शिक्षालयहरु, मेडिकल हबको रुपमा विकास हुनुपर्ने बताए । ग्रिनसिटीको रुपमा नमूना सिटी वीरगन्ज हुनुपर्ने बताउनुभयो । आगामी स्थानीय तहको निर्वाचनमा एक्लै एमालेसँग लड्न हैसियत पाँचदलीय गठबन्धनसँग नरहेको पनि बताउदै अत्यधिक बहुमतका साथ नेकपा एमालेले विजय हासिल गर्ने एमालेमा प्रवेश गर्नेको जनलहरले स्पष्ट पारेको बताउनुभयो । त्यसको लागि बैशाख ३० गते चुनावको दिन पर्खिनुपर्ने पनि बताउनुभयो ।