मान्छे मार्ने जंगली हात्तीको दाह्रा काटियो
वीरगञ्ज, ११ कात्तिक। मान्छेलाई आक्रमण गरेर ज्यान लिने जंगली हात्तीको दाह्रा निकालिएको छ । बाराको अमलेखगञ्जमा आएको जंगली हात्तीलाई राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहा, चितवनको प्राविधिक सहयोगमा दुवै दाह्रा काटेर जंगलमा छोडिएको छ । हात्तीसारमा आएको मौका छोपेर शुक्रबार बिहान २ः५० बजे डार्ट गरिएको थियो ।
बिहान पौने ५ बजे हात्तीसार परिसरमै बेहोस बनाई दाह्रा काटेर सकुशल बिहान ५ः१८ बजे प्राकृतिक वासस्थानमा छोडिएको हो । डार्ट गरेको २/३ घण्टापछि हात्ती लठ्ठिन्छ । त्यसपछि बेहास बनाउने सुई लगाएर दाह्रा काटेर निकालिएको पर्सा राष्ट्रिय निकुञ्जका कायम मुकायम प्रमुख संरक्षण अधिृकत अशोक रामले बताउनुभयो ।
जंगली हात्ती मानववस्तीमा आएर आक्रमण गरी ज्यान लिने हात्तीबाट धनजनको थप क्षति पुर्याउन सक्ने भएकाले दाह्रा काटेर जंगलमा छोडिएको पर्सा राष्ट्रिय निकुञ्जका कायम मुकायम प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले जानकारी दिनुभयो । दाह्रा काटिदिएपछि हात्तीहरु अलि कमजोर हुने र प्रायः फेरी त्यो ठाउँमा नबस्ने भएकोले दाह्रा काटेर जंगलमा छोडेको कामु प्रमुख रामले बताउनुभयो । दाह्रा काटेर छोडिएको हात्ती पुनः फर्केर आउन पनि सक्ने भएकोले गस्ती निरन्तर गरिरहेको उहाँले बताउनुभयो ।
पर्सा राष्ट्रिय निकुञ्जमा करिब २ अघि पूर्व तर्फबाट सर्लाही, रौतहट, बाराको टाँगिया बस्ती हुँदै तीन वटा भाले जंगली हात्ती राष्ट्रिय निकुञ्जमा प्रवेश गरेको रामले बताउनुभयो । तीमध्ये २ वटा जंगली हात्ती हलखोरिया, टाँगियाबस्ती तथा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १३ र १४ मा विचरण गर्ने गरेको छ भने एउटा जंगली हात्ती २० दिनदेखि अमलेखगञ्ज, आधाभार तथा पथलैया स्थित निकुञ्ज अन्तर्गत रहेको अमलेश्वर मध्यवर्ती समितिको क्षेत्रमा घुमिरहेको थियो ।
त्यही घुमीरहेको हात्तीले बिहीबार एक महिलालाई आक्रमण गर्दा मृत्यु भएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत नेपाल आयल निगमको पार्किङ क्षेत्र नजिकै जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २१ बस्ने ५१ वर्षीया रुकैया खातुनलाई आक्रमण गर्दा खातुन घाईते हुनुभएको थियो । बाख्रा चराउँदै गरेकी उहाँलाई दिउँसो पौने ३ बजेतिर हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।
घाईते खातुनलाई उद्दार गरेर सिमरा स्थित अल्पाइन मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको थियो । महिलालाई आक्रमण गरेर जंगलतिर पसेको हात्ती राति पूनः हात्तीसार आइपुगेको थियो । जंगली भाले हात्ती हात्तीसारमा रहेका पोथी हात्तीसँग संसर्गका लागि पनि आउने गर्छन् ।