एकहप्ता भित्र उपचारको शुल्क सार्वजनिक गर्न देशभरका अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन 

एकहप्ता भित्र उपचारको शुल्क सार्वजनिक गर्न देशभरका अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमार्डौं, १८ जेठ। अस्पतालहरुमा कोरोना संक्रमितको उपचारमा चर्को शुल्क लिईरहेको सर्वत्र गुनासो आएपछि सरकारले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक सबैथरि अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दैनिर्देशन दिएको हो ।

कोरोना महामारीको समयमा बिरामीको उपचारवापत चर्को शुल्क लिएको, अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाएर आर्थिक व्ययभार थपेको, उपचारका लागि चाहिने सामान बिरामीलाई किन्न लगाएको तथा आवश्यकभन्दा बढी औषधि किन्न लगाएको गुनासो आएको मन्त्रालयले जनाएको छ ।


गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा। मदनकुमार उपाध्यायले जारी गरेको सूचनामा ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र त्यसको लागत रकम शीर्षकसमेत उल्लेख भएको मूल्यसूची सञ्चालक समितिबाट निर्णय गराइ वेबसाइट वा सूचना पाटीमा सार्वजनिक गर्न भनिएको छ । त्यस्तै उक्त मूल्यसूचीको विवरण स्वास्थ्य संस्था सञ्चालनको इजाजत दिने निकायमा पनि पठाउन भनिएको छ ।