आन्दोलनरत पर्साका शिक्षकहरुद्वारा थप संघर्षका कार्यक्रम घोषणा
वीरगन्ज, १० जेठ । आन्दोलनरत नेपाल शिक्षक महासंघ पर्साले थप संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेका छन् । स्थानीय तहले नियम विपरित शिक्षकहरुको सरुवा, घटुवा लगायतका काम गरेको विरोधमा चरणबद्ध आन्दोलनमा रहेका शिक्षकहरुको संगठन नेपाल शिक्षक महासंघले आजदेखि थप संघर्षका कार्यक्रम घोषणा गरेको हो । जेठ ७ गतेदेखि हातमा कालोपट्टी बाँधेर आन्दोलन शुरु गरेको शिक्षकहरुले जेठ ८ र ९ गते वीरगन्ज महानगरपालिकाको मुल गेटमा धर्ना दिएका थिए ।
तर, स्थानीय सरकारले कुनै सुनुवाई नगरेपछि थप संघर्षका कार्यक्रम गर्नुपरेको शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले जानकारी दिनुभयो । घोषित संघर्षका कार्यक्रम अनुसार जेष्ठ १० गते आज सामुदायिक विद्यालयमा छैठौं र सातौं घण्टी बहिष्कार गर्ने निर्णय गरेको छ । त्यस्तै जेष्ठ ११ गते भोली टिफिन पछिको सबै घण्टी बहिष्कार गर्ने, जेष्ठ १२ गते हाजिरी गरेर सबै घण्टी बहिष्कार गर्ने र जेष्ठ १३ गते नेपाल शिक्षक महासंघको कार्यालयमा बसि थप कार्यक्रमको तयारी गर्ने बताईएको छ ।
संघीय शिक्षा ऐन, जारी नभएको अवस्थामा शिक्षा ऐन, २०२८ र नियमावली २०५९ को व्यावस्था अनुसार नियुक्ति भएका शिक्षकहरुलाई स्थानीय तहरुले अधिकार क्षेत्रभन्दा नियम विपरित राजनीतिक आग्रह, पूर्वाग्रह राखेर सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरुलाई मनमौजी सरुवा गर्ने, घटुवा गर्ने र मानसिक यादना दिने समेतको काम गरेको भन्दै पहिले समस्या समाधान गर्न ज्ञापनपत्र बुझाएका थिए ।
त्यसपछि पनि स्थानीय तहको सरकारले सुनुवाई नगरेपछि जेठ ७ गतेबाट आन्दोलन शुरु गरेका थिए । जेठ ९ गतेसम्मको आन्दोलनमा समेत संवादका लागि स्थानीय तह गम्भीर नदेखिएपछि थप कार्यक्रमको घोषणा गरिएको महासंघका अध्यक्ष तीर्थराज यादव र सचिव विनोद गिरीले विज्ञप्ति जारी गरेर जाकारी गराएको छ ।