नेकपा एकीकृत समाजवादी पर्साको सपथ ग्रहण सम्पन्न, विचारी यादव र अरविन्द सिंह सपथ ग्रहणमा अनुपस्थित
वीरगन्ज, २६ भदौ । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी पर्साको जिल्ला कार्यसमितिको सपथ ग्रहण सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतितिथ पार्टीका प्रदेश अध्यक्ष रामचन्द्र यादवले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।
पार्टीका पर्सा अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएकोे सपथ ग्रहण कार्यक्रममा तत्कालिन एमालेको १७५ जिल्ला कार्यसमिति मध्य १३८ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले नेकपा एमालेलाई केपी ओलीले नीति र सिद्धान्तबाट विचलति भई कम्युनिष्ट आन्दोलनलाई समाप्त पारेको आरोप लगाए ।
उनीहरुले कम्युनिष्ट पार्टीमा समूहिक निर्णयलाई मान्नुपर्ने भएपनि एकलौटी ढंगले तानाशाही लाद् खोजेको तथा लोकतन्त्रको सबैभन्दा ठूलो आधार स्तम्भ संसदलाई दुई दुईपटक भंग गरेर लोकन्तत्रमाथि प्रहार गरेको आरोप लगाए । कार्यक्रममा केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साह, पुष्पा कुमारी कर्णं, चिरञ्जिवी आचार्य, मनोज चौधरी लगायतको उपस्थिति रहेको नेकपा एकीकृत समाजवादीका नेता मनोज शर्माले जानकारी दिनुभयो ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी ओली विरुद्ध खरो विरोध गर्ने नेताहरु नेकपा एमालेमै बस्ने भएका छन् । संविधानसभा सदस्य एवं नेकपा एकीकृतका महानगर इन्चार्जको जिम्मेवारी पाएका विचारी यादव र युवा नेता अरविन्द सिंह सपथ ग्रहण कार्यक्रममा अनुपस्थित भएका छन् । उनीहरु शनिबार भएको एकीकृत समाजवादी पार्टीको सपथ ग्रहण कार्यक्रममा सहभागी नभएपछि एमालेमै रहन सक्ने अनुमान गरिएको छ ।