पर्सा क्षेत्र नम्बर ३ प्रदेशसभा (२) उम्मेदवार गुप्ता पत्रकारहरुबीच अनुत्तरित

मधेसी पार्टीबाट उम्मेदवारको प्रतिवद्धतामा मधेस शब्द नै गायब

पर्सा क्षेत्र नम्बर ३ प्रदेशसभा (२) उम्मेदवार गुप्ता पत्रकारहरुबीच अनुत्तरित

वीरगन्ज, २३ कार्तिक । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) की एमाले जसपा गठबन्धनकी उम्मेदवार मधु गुप्ता कुर्मीले आफ्नोे प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ । उहाँले पर्सा क्षेत्र नम्बर ३ को (२) मा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि आधुनिकीकरण, व्यवस्थित सहर लगायतका महत्वकांक्षी योजना सहितको प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।

आन्दोलनका शहिद परिवार र घाईतेहरुको लागि उचित सम्मान र व्यावस्थापनको समेत प्रतिवद्धता जनाउनु भएको छ । मधेसबाट स्थापित पार्टी जसपा नेपालबाट उम्मेदवार बन्नुभएकी उम्मेदवार गुप्ताको प्रतिवद्धता पत्रमा मधेस शब्द भने उल्लेख गरिएको छैन । उहाँले अधिकर आन्दोलनमा शहिद तथा घाईतेहरुको उच्च सम्मान र उनीहरुका परिवारका लागि शिक्षा, रोजगारी र जीवनयापनका लागि योजना ल्याईने उल्लेख गर्नुभएको छ ।

शहिद परिवारले नै टिकट नपाएर अर्को पार्टी वा स्वतनत्र उम्मेदवार बन्नु पर्ने अवस्थामा शहिदको सम्मान कसरी भयो भन्ने  सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा भने उम्मेदवार गुप्ता अनुत्तरित हुनुभयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै बदनाम पप्पु कन्स्ट्रक्सन कम्पनीका पूर्व संचालक एवं जसपा नेपालका राजनीतिक समितिका सदस्य समेत रहेका यसअघिको प्रतिनिधिसभाका निलम्बित सांसद हरिनारायण रौनियारकै अध्यक्षतामा प्रतिवद्धता पत्र सार्वजनिक गरिएको थियो ।

रौनियारलाई अदालतले दोषी ठहर गरि जरिवाना तोकेको निलम्बित सांसदको परिवारकै सदस्य उम्मेदवार बन्नुभएको मतदाताले किन भोट दिने ? भन्ने प्रश्नमा गुप्ताले जवाफ दिन सक्नुभएन । राज्यले तोकेको जरिवाना नतिरेर नियम कानून नै नमानेका व्यक्तिका परिवारका सदस्य उम्मेदवार बनेकोमा मतदाताले किन भोट दिने भन्ने सञ्चारकर्मीको प्रश्नमा गुप्ता अनुत्तरित भएपछि हरिनारायण रौनियारले अदालतले गरेको फैसलाको विषयमा कुनै टिप्पणी नगर्न आग्रह गर्नुभयो ।

उम्मेदवार गुप्ताले चिकित्सा सेवा क्षेत्रबाट आफू राजनीतिमा प्रवेशको स्पष्टिकरण दिदै अन्य विषयहरुमा जानकारी नभएको प्रतिक्रिया दिनुभयो । जसपा नेपालका राजनीतिक समिति सदस्य हरिनारायण रौनियारको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जसपा नेपालका क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, प्रदेशसभा क्षेत्र (ख) का अध्यक्ष पवन सिंह, नेकपा एमालेकी केन्द्रीय सदस्य निर्मला देवकोटा लगायतको उपस्थिति रहेको थियो ।