‘क्रिष्मस डे’ को अवसरमा उपराष्ट्रपति पुनद्वारा शुभकामना व्यक्त
वीरगन्ज, १० पुस । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले एकअर्काको धार्मिक तथा सांस्कृतिक पहिचानलाई स्वीकार र सम्मान गर्न सक्ने मात्रै राष्ट्रिय एकता अझै सुदृढ् हुने बताउनुभएको छ ।
ईसाई धर्मावलम्बीहरुको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा शुभकामना दिदै उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्रमा समिश्रित बसोवास गरेका नागरिकको आफ्नो भाषा, धर्म, संस्कार संस्कृति रहेको र यसले विविधताबीचको एकतालाई पनि कायम राख्ने नेपालीहरुको साझा पहिचान पनि भएको बताउनु भएको छ ।
विविधतायुक्त धार्मिक एवम् सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिंदै आएको उल्लेख गर्नुभएको छ ।
विभिन्न धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीकाबीच आपसी सद्भाव, सामाजिक एकता, भातृत्व र सहिष्णुता कायम गर्दै आएको र क्रिसमस डेले सम्पूर्ण नेपालीकाबीच आपसी सद्भाव, सामाजिक एकता, भातृत्व र सहिष्णुता कायम राख्दै, सिंगो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ् बनाउँदै समुन्नत र समृद्ध नेपाल निर्माणमा अघि बढ्न हामी सबैलाई उर्जा प्रदान गर्ने विश्वास समेत लिएको उपराष्ट्रपति पुनले उल्लेख गर्नुभएको छ ।