सांसद लक्ष्मी महतो कोईरीलाई पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन  

सांसद लक्ष्मी महतो कोईरीलाई पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन  

वीरगन्ज, ६ माघ ।  महोत्तरी जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । फरार प्रतिवादी संसदमा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पक्राउ गर्न निर्देशन दिनुभएको थियो ।

बिहीबार सभामुखको निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कोइरी बैठकमा उपस्थित भएको नभएको जानकारी गराउन माग गर्नुभएको थियो । शुक्रबार गृहमन्त्रालयले जारी गरेको सूचनामा निज प्रतिवादीलाई कानुन बमोजिम पक्राउ गरी तत्काल कारबाही पक्रिया अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको व्यहोरा अनुरोध छ ।

भन्ने व्यहोराको पत्र प्रवक्ता फणिन्द्रमणि पोखरेलले हस्ताक्षर गरेर जारी गरेको छ । विज्ञप्तिमा उपप्रधान तथा गृहमन्त्रीले पटकपटक दिएको मौखिक निर्देशन कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।