प्रचण्ड र सिके राउतबीच भेट
वीरगन्ज, १५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्ता (सीके) राउतबीच भेट भएको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम आउदै गर्दा सरकार गठनको पनि कसरत भईरहेको छ ।
यहिक्रममा प्रचण्ड र राउतबीच भेट भएको हो । राउत प्रचण्ड निवास खुलमटारमा पुगेर भेट गर्नुभएको थियो । भेटका क्रममा अध्यक्ष प्रचण्डले राउतलाई निर्वाचित भएकोमा बधाई दिनुभएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
गठबन्धन दलमा रहेको एकीकृत समाजवादी पार्टीको समानुपातिकमा अपेक्षित मत नआउदा सरकार गठनमा समस्या देखिएको अवस्थामा सरकार गठनका लागि शीर्ष नेताहरुले छलफल र भेटघाटलाई तीब्र बनाई रहँदा प्रचण्ड र राउतको भेटलाई अर्थपूर्ण रुपमा लिईएको छ ।
समानुपातिक तर्फको अन्तिम मत परिणाम आउन बाँकी रहँदा अनुमाति सिट संख्याको गणना गर्दा अझै गठबन्धन दललाई २ देखि ३ सिट अपुग हुने अनुमान गरिएको छ ।