विवादित ठेकेदार पूर्व सांसद हरिनारायण रौनियार पक्राउ

विवादित ठेकेदार पूर्व सांसद हरिनारायण रौनियार पक्राउ

वीरगन्ज, १५ असार । देशभर बदनाम कमाएको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका संस्थापक ठेकेदार तथा पूर्व सांसद हरिनारायण रौनियार पक्राउ परेका छन् । बाँकेमा ठगीसम्बन्धी कसूरमा उनलाई प्रहरी वृत्त, बानेश्वरको टोलीले शुक्रबार पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताउनुभयो । रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दर्ता थियो ।

रौनियार काठमाडौंमा बस्ने भएकाले बाँके प्रहरीले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरेपछि उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद् रौनियार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा परेका थिए ।

उनी संघीय समाजवादी फोरमबाट सांसद् निर्वाचित भएका थिए । निलम्बित अवस्थामै उनको कार्यकाल सकिएको थियो । नेपालको निर्माण क्षेत्रमा कालोसूचीमा रहेको कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिको संस्थापक रहेका उनी कम्पनी छोरा सुमित रौनियारलाई जिम्मा लगाएर २०७४ सालको निर्वाचनमा राजनीतिमा लागेका थिए ।

उनको कम्पनीले आफ्नै क्षेत्र जाने सडक खण्डमा पर्ने तिलावे पुल पनि बर्षौसम्म निर्माण नगरी बस्दा त्यसक्षेत्रका नागरिकले सास्ती भोग्नु परेको थियो । उनको कम्पनीले पुल निर्माणमा ढिलाई गरेपछि ठेक्का तोडेर लुम्बिनी जेभीलाई दिईएको थियो । लुम्बिनी जेभीबाट पनि निर्माणको जिम्मा उनैको कम्प्नीले लिन सफल भएको थियो ।

मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उनकी छोरी मधु रौनियार पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा ख बाट निर्वाचन लड्ने भएपछि हतारमा पुल निर्माण गरेर सम्पन्न नहुँदै तत्तकालिन सहरी विकास मन्त्री महम्द इस्तियाक राई र पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई ल्याएर उदघाटन गराएका थिए ।

उनले आफ्नो बुवाआमाको स्मृतिमा निर्माण गर्न शिलान्यास गरेको प्रवेशद्वार समेत अहिलेसम्म निर्माण गरेको छैन । २०७३ साल कार्तिकमा पोखरिया नगरपालिका प्रवेश गर्नेंद्वारा निर्माण गर्न आफैले शिलान्यास गरेका थिए । उक्त प्रवेशद्वारा अहिलेसम्म निर्माण भएको छैन ।